ब्राजिलमा गएको २४ घण्टा यता कोभिड-१९ को सङ्क्रमणबाट यहाँका तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । कोभिड-१९ को सङ्क्रमणमा परेका तीन हजार ४७२ जनाको एकै दिनमा ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको र सोही अवधिमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १
करोड ४१ लाख २२ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको छ ।
हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड-१९ को भयानक तनाव खेप्नु परेको समाचारमा जनाइएको छ । यस तनावका कारण यहाँका नागरिकमा जन स्वास्थ्य सम्बन्धी सुविधा पुऱ्याउन नै समस्या भएको बताइएको छ ।
बा्रजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।
यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९० हजार भन्दा पनि बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २८ लाख नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । यहाँका नागरिकले कोरोनाका विरुद्धको खोप पनि लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि खोप मात्र पनि प्रभावकारी नदेखिएको बताइएको छ ।