रुपन्देहीको सैनामैनामा अवैध रूपमा माटो उत्खनन् र बिक्री वितरण कार्य तीव्र रूपमा अघि बढेको छ । पालिका र प्रहरीको फितलो अनुगमनका कारण अवैध तवरले माटोको उत्खनन, ओसारपसार र चोरी हुन लागेको हो ।
गौरवका आयोजना तथा खेत बनाउने बहानामा सैनामैना वडा न. ७ हरियाली टोलको सुकुम्बासी बस्तीबाट अवैध रूपमा माटो उत्खनन् गरी निजी प्रयोजनका लागि धमाधाम ओसारपोसार भएको पाइएको छ ।
वडाको क्षेत्राधिकारभन्दा बाहिर गएर कानुनविपरीत वडाकै सिफारिसमा माटो उत्खनन् गरी बिक्री वितरण भएको पाइएको हो । अवैध
काम गरेको भन्दै स्थानीयले पक्राउ गरी प्रयोग भएका उपकरण प्रहरीको जिम्मा लगाएको छ । सैनामैना नगरपालिका वडा न.७ का वडा अध्यक्ष डिलाराम बेल्बासेद्वारा हस्ताक्षरित अनुमतिपत्रमा माटो कटान गरी ढुवानी गर्ने कार्य मात्र भनिएको छ, कुन प्रयोजन भनेर उल्लेख गरिएको छैन ।
बुधबार सैनामैना वडा न.७ हरियाली टोल विकासमा ५९९९ नम्बरको जेसिभि, लु २ ख १०२१, लु २ ख १०२६, लु २ ख १२४७, लु २ ख २६०८, लु २ ख ९८८ नम्बरको टिप्पर र लु ४ प ७७, लु ३ त ६९३८ नम्बरका ट्याक्टर लगायतका उपकरण प्रयोग गरी धमाधाम माटो उत्खनन् हुँदासमेत सम्बन्धित निकाय मौन छ ।
सो माटो उत्खनन् गरी ओसारपोसार गरिएको गतिविधिप्रति नगरपालिकालाई कुनै जानकारी नभएको सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताएका छन् । सार्वजनिक प्रयोजनबाहेक अरु ठाउँमा लैजाने कार्य अवैध मानिने भन्दै कानुनी कार्वाहीमा ल्याइनेसमेत पन्थीले बताए । उनका अनुसार आईई गरिएका लोकमार्ग तथा गौरवको आयोजनामा माटोको अनुमति पालिकाबाट मात्र हुने प्रावधान छ ।
मापदण्ड पूरा गरी सार्वजनिक प्रयोजनका लागिबाहेक अन्य प्रयोजनमा ऐलानी जग्गाबाट माटो उत्खनन् गर्न नपाइने जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्माले बताउँछन् । स्थानीय तहलाई सुकुम्बासी बस्तीबाट माटो उत्खनन् गरी बिक्रीवितरण गर्न अधिकार नभएको जानकारी दिँदै विश्कर्माले वडाले दिएको सो अनुमति अवैध भएको बताए । अनुमतिमा जिल्ला समन्वयको रोहबरमा कुन प्रयोजनका लागि हो भनेर प्रस्ट उल्लेख भएको हुनुपर्ने उनको जिकिर छ ।