बागलुङ । विद्यालय र समुदायमा ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।
मङ्गलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ विद्यार्थीसहित सोही विद्यालय आसपास समुदायका शङ्कास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसअघि सोही विद्यालयका दुई शिक्षकमा कोरोना सङ्क्रमण देखापरेको थियो । विद्यालयमा अघिल्लो शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ ।
मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले मङ्गलबार रातिदेखि लागू हुनेगरी लकडाउनघोषणा गरेको हो
।
बागलुङ नगरपालिका–१४ नारायणस्थाल, वडा नं. १२ अमलाचौर र वडा नं.१३ पैञ्युपाटामा दश दिनका लागि लकडाउनको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरज गुरौले जानकारी दिए ।
समितिको सिफारीसमा जिल्ला प्रशासन कार्यालय बागलुङले लकडाउन घोषणा गर्नेछ । लकडाउनको समयमा सङ्क्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने छ ।