स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले सबैलाई आदेश पालना गरी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चालेको कदममा सहयोग गर्न आग्रह गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको
थियो । मन्त्री त्रिपाठीले कोरोना भाइरसले हुने ठूलो चुनौती रोक्न आदेश जारी गरिएकाले त्यसको सबैले पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले आदेश पालना गरे मात्र कोभिड-१९ भाइरसलाई पराजित गर्न सकिने भन्दै आदेश पालनामा कतै कमजोरी देखिए त्यसले मुलुक ठूलो दुष्चक्रमा फस्नेसमेत चेतावनी दिनुभयो । ‘सबैलाई म आग्रह गर्नु चाहन्छु कि सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुहोस्’, उहाँले भन्नुभयो, ‘आदेश पालना नगरे कठोर कदम उठाउन सरकार बाध्य हुनेछ ।’ मन्त्री त्रिपाठीले कोभिड-१९ को सङ्क्रमणलाई हल्का रुपमा नलिन र हल्का ढङ्गले लिए सङ्क्रमण अझ बढ्न गई स्थिति गम्भीर बन्नेसमेत बताउनुभयो ।
उहाँले जनताको जीवन जोगाउनका लागि नै सरकारले आदेश जारी गरेको बताउनुभयो । उहाँले सरकारको बन्दाबन्दी गर्ने कुनै चाहना नभएको पनि उल्लेख गर्नुभयो । ‘बन्दाबन्दीले हाम्रो जीवनलाई कस्तो असर गऱ्यो भन्ने कुरा हामीले विगतको अभ्यासबाट थाहा पाएका छौँ । हामी भरसक बन्दाबन्दी गर्ने पक्षमा छैनौँ’, उहाँले भन्नुभयो ।
सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पाँच हप्तादेखि सङ्क्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । उहाँले सङ्क्रमणको नयाँ स्वरुप देखिएकाले सचेत रहनु पर्नेमा जोड दिनुभयो । आज मुलुकभर एक हजार ७३६ सङ्क्रमित फेला परेका छन् ।