सरकारले हिजो (सोमबार) कोभिड- १९ संक्रमणको जोखिम भएको भन्दै सभा-समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने नियम जारी गर्यो । तर भोलिपल्टबाटै उक्त नियम सरकारले नै उल्लंघर सुरू गरिसकेको छ ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मेला, महोत्सव, जात्रा, पर्व, विवाहजस्ता धार्मिक अनुष्ठान तथा अत्यावश्यक धार्मिक र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी नभई जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै गर्न पाइने नियम जारी गरिएको थियो । उक्त मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– ‘एक पटकमा पच्चीस जना भन्दा बढी हुन
नहुने, दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने ।’
तर, मंगलबार उक्त नियम बालुवाटारबाटै उल्लंघन सुरु भएको छ । आफ्नै निर्णयको खिल्ली उडाउँदै आज (मंगलबार) बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धार्मिक पूजा अनुष्ठान कार्यक्रम राखियो । त्यहाँ सरकारकै मन्त्रीहरूदेखि सन्त-महन्थहरूको बाक्लो उपस्थिति रहेको थियो ।