जापानी प्रधानमन्त्री योशिहिदे सुगा अमेरिका भम्रण पूरा गरी जापान फर्किएका छन् । चार दिने अमेरिका भ्रमण सम्पन्न गरी आइतबार मध्याहन्न उनी स्वदेश फर्किएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको भेटका क्रममा उनीहरुले आशियान देशहरुसँग सहकार्य बढाउने सहमति गरेका छन् ।
भेटघाटपछि जारी संयुक्त विज्ञप्तिमा ताइवानको नाम पनि उल्लेख गरिएको छ । जापानी र अमेरिकी नेताहरुले यस्तो गरेको यो सन् १९६९ यता पहिलो पटक हो । हङकङ र सिनचियाङ उइगर स्वशासित क्षेत्रमा मानव अधिकार उल्लंघनप्रति पनि दुवै देशले
गम्भीर चिन्ता व्यक्त गरेको विज्ञप्तिमा भनिएको छ ।
जापानले आगामी बिहीबार जलवायु सम्मेलन शुरु भएपछि सन् २०३० सम्मको हरित गृह ग्यास कटौती लक्ष्य स्पष्ट पार्ने भ्रमणका क्रममा सुगाले बताएका थिए ।
यस्तै, प्रधानमन्त्री सुगाले अमेरिकी औषधि निर्माता फाइजरलाई कोभिड–१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरूभन्दा पछाडि पर्ने खोपको गतिलाई थप आग्रह गरेका छन् ।
व्हाइट हाउसमा राष्ट्रपति बाइडेनसँग कुराकानी गरेपछि सुगाले शनिबार आफ्नो वाशिंगटनको भ्रमणलाई फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बाउलासँगको फोन वार्तासँगै अन्त्य गरेका थिए ।
जापानका अधिकारीहरूले आइतबार जनाएअनुसार सुगाले बाउलालाई खोपको थप आपूर्तिको लागि अनुरोध गरेका थिए । जापानले खोपको आपूर्तिमा कुनै समस्या नआएमा आगामी सेप्टेम्बरसम्ममा खोप लगाउन योग्य नागरिकहरूमा खोप पुर्याउने बताएका थिए । सो अवसरमा उनले खोपको निरन्तर र स्थिर वितरण सुनिश्चित गर्न आग्रह गरेको र बाउलाले यस विषयमा फाइजरले जापानी अधिकारीसँग छलफल गर्ने जवाफ दिएका बताइएको छ ।
घरेलु खोप विकास अझै प्रारम्भिक चरणमा रहेको जापानमा खोपका लागि सहयोगी मुलुकबाट हुने आयातमा निर्भर हुनुपर्दछ र, आर्थिक रूपमा शक्तिशाली मानिने यस मुलुकले फाइजर, एस्ट्राजेनेका र मोडर्नासँग सम्झौतामा हस्ताक्षर गरिसकेको छ । जापानले अहिलेसम्म फाइजरको खोप प्रयोगका लागि स्वीकृत गरिसकेको छ ।
जापानको सरकारले ३१ करोड ४० लाख मात्रा आपूर्तिका लागि विभिन्न खोप निर्माण कम्पनीसँग सम्झौता गरेको छ भने फाइजरसँगबाट मात्र १४ करोड ४० लाख मात्रा खोप लिने सहमति भएको छ ।
हालसालै कोभिडका घटनाहरूमा देखिएको वृद्धिको कारण सरकारले टोकियो र नौ अन्य सहरी क्षेत्रहरूको लागि सतर्कताको स्थिति जारी गरेको छ । जापानले महामारी सुरूभएपछि हालसम्म कूल पाँच लाख २५ हजार २१८ व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ भने जापानमा कूल नौ हजार ५८४ कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ ।