शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक !
भर्खरै

पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक !

  • सिधा दृष्टी आइतवार, बैशाख ५, २०७८ | April 18, 2021

ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उनको एक रूसी चिकित्सकले ट्वीटरमार्फत् सार्वजनिक गरेको एक सन्देशमा उल्लेख गरिएको छ ।

उपचारमा ध्यान नदिइए जेलमा रहेका रुसी विपक्षी अभियानकर्मी एलेक्सी नभाल्नीको ‘केही दिनभित्र ज्यान जान सक्ने’ उनका चिकित्सकले जानकारी दिएको एपीले जनाएको छ ।

हालै गरिएका रगत परीक्षणका नतिजाले उनी हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्थाको शिकार हुन सक्ने देखाएको चिकित्सकहरूले बताएका हुन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई ‘पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त’ भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रुअरी महिनामा जेल पठाइएको थियो ।

तत्काल नभाल्नीलाई हेर्ने अनुमति माग्दै उनकी निजी चिकित्सक डा. अनास्तासिआ भसिलिएभासहित चारजना चिकित्सकले कारागार अधिकारीहरूलाई पत्र लेख्नुभएको छ ।

डा. भसिलिएभाले सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेको पत्रमा विज्ञहरूका अनुसार नभाल्नीको शरीरमा पोटासियमको मात्रा ‘जटिल मोडमा’ पुगेको उल्लेख गरिएको छ । यसका कारण उहाँलाई कुनै पनि समय मिर्गौलाको काम र मृटुको धडकनमा गम्भीर समस्या हुनसक्ने चिकित्सकहरूले बताएका छन् ।

रगतमा पोटासियमको तह प्रतिलिटर ६.० मिलिमोल्सभन्दा बढी भएपछि बिरामीलाई तत्काल उपचार गराउनुपर्ने हुन्छ । तर नभाल्नीका वकिलहरूमार्फत् उपलब्ध गराइएको रगत परीक्षणको नतिजामा उनको रगतमा पोटासियमको तह प्रतिलिटर ७.१ रहेको जनाइएको छ ।

रगत परीक्षणका नतिजा र हालसालै विष दिइएको घटनालाई ध्यानमा राख्दै तत्काल नभाल्नीको स्वास्थ्य परीक्षण गर्न दिन चिकित्सकहरूले कारागार अधिकारीहरूलाई आग्रहसमेत गरेका छन् ।

सन् २०२० को अगस्ट महिनामा स्नायु प्रणालीलाई असर गर्ने विष दिइएकोमा ४४ वर्षीय नभाल्नीको झण्डै ज्यान गएको थियो । उक्त घटनामा राष्ट्रपति पुटिनको समेत सम्लग्नता रहेको नभाल्नीले दावी गर्दै आउनुभएको छ । तर रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले ती आरोप अस्वीकार गर्दै आएको छ ।

नभाल्नीकी श्रीमती युलिआले अमेरिकीसमाचार संस्था एपीलाई दिएको जानकारीमा नभाल्नीले अनशन शुरू गरेयता उनको तौल नौ किलोभन्दा बढी घटेको र हाल ७६ किलोग्राम पुगेको उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय