काठमाडौं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस, चितवनमा नेविसंघका विद्यार्थीहरुमाथि आक्रमण गर्नेहरुलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आफ्ना कार्यकर्ताहरुमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।प्रमुख सचेतक खाँणले जारी गरेको विज्ञप्तिमा हतियारसहित विद्यार्थीहरुमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मूकदर्शक बनेर बस्नु लज्जास्पद भएको उल्लेख छ । साथै, विश्वविद्यालयलाई प्रागिक थलोको रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी
तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउन आग्रह पनि गरिएको छ ।
यसअघि शुक्रबार कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गर्दै घटनाका दोषीहरुलाई अविलम्ब गिरफ्तार गरेर कारवाही गर्न माग गरेका थिए । उनले शैक्षिक स्थलहरुमा हुने हिंसात्मक बल प्रयोग कहिल्यै पनि क्षम्य हुन नसक्ने जनाएका थिए ।
रामपुर क्याम्पसमा नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा विवाद हुँदा शुक्रबार अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघबीच दोहोरो झडप भएको थियो । झडपमा चार जना घाइते भएका छन् ।