एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको दरले दैनिक रेकर्ड राखिरहेको छ । हरेक दिन रेकर्ड कामय गर्दै गएको संक्रमणको दरमा पछिल्लो २४ घण्टामा पनि रेकर्ड कामय भएको छ । पछिल्लो २४ घण्टामा भारतमा हाल सम्मकै धेरै २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित पुष्टि भएका छन् । यो संगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामै कोरोना भाइरसको संक्रमणबाट १ हजार १ सय ८३ संक्रमितको मृत्यु
भएको छ ।
यसअघि बिहीवार मात्रै भारतमा २ लाख ७ सय ३८ कोरोना संक्रमित थपिएका थिए । भारतमा हालसम्म १ करोड २५ लाख ४३ हजार बढी कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार नाघेको छ । त्यस्तै १ लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ९६ लाख ६५ हजार नाघेको छ ।
संक्रमितमध्ये २९ लाख ९८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ करोड ८७ लाख ५२ हजार बढीले कोरोना संक्रमणलाई जितेका छन् ।
विश्वमा हाल सक्रिय संक्रमितको संख्या १ करोड ७९ लाख १४ हजार बढी छ । जसमध्ये १ लाख ६ हजार ६ सय बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।