नेपाल भूमि सूचना पद्धति (नेपाल ल्याण्ड इनफरमेशन सिस्टम-नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गरिएको छ । घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा नेपाल सरकारले आजदेखि शुरु गरेको हो । मेरो कित्ताको वेबसाइट www.merokitta.dos.gov.np ‘लग इन’ गरेर उक्त सेवा लिन सकिने छ ।
नापी विभागद्वारा बिहीबार राजधानीमा नेलिज तथा ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रविधिको विकासमा जोड
दिएको बताउनुभयो । ‘सकभर आफैँले प्रविधिको विकास गर्ने हो, नसके अरु देशबाट लिन्छौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले लगानी र प्रविधि आयातमा जोड दिएका छौँ ।’ सो अवसरमा प्रधानमन्त्री ओलीले कलङ्की कार्यालयकी सेवाग्राही दमन्ता ढुङ्गानालाई नक्शाको प्रकाशन पनि हस्तान्तरण गर्नुभयो ।
सरकारले सबैक्षेत्रमा आधुनिकीकरणको विकास गर्न खोजेको स्पष्ट पार्दै उहाँले जमीनको उपभोग र कृषि क्षेत्रमा आत्मनिर्भर हुन जरुरी रहेको बताउनुभयो । उत्पादकत्वमा जोड दिनुपर्ने जनाउँदै उहाँले ठूलो मात्रामा उत्पादन गरी आन्तरिक र अन्तरराष्ट्रिय बजार खोज्न सुझाव दिनुभयो । नेपाल माछा, मासु र अण्डामा आत्मनिर्भर बनेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सागसब्जी र खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।
‘यसमा आत्मनिर्भर बन्नका लागि हाम्रा आनीबानीमा सुधार गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘देशलाई खाद्य वस्तु निर्यात गर्ने अवस्थामा पुऱ्याउनुपर्छ ।’ सरकारले व्यापार घाटा घटाउँदै लगेको जनाउँदै प्रधानमन्त्री ओलीले कोभिड-१९ का कारण बाधा उत्पन्न भएको बताउनुभयो । छिमेकी भारतमा कोरोना सङ्क्रमण ह्वात्तै बढेकाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने हुँदा सबैलाई त्यसप्रति सजग रहन उहाँले आग्रह गर्नुभयो । ‘सीमामा सतर्कता बढाउनुपर्छ, क्षति कम गर्न सबैको प्रयास आवश्यक छ’, उहाँले भन्नुभयो ।
नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका लागि सिफारिस भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने अभियानमा सरकार लागिपरेको बताउनुभयो । ‘क्लिन इनर्जी’ अभियान सञ्चालन गर्दै सरकारले विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिएको उहाँले स्पष्ट पार्नुभयो ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा अस्वाभाविक रुपमा ढिलाइ भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले काममा व्यवधान खडा गर्ने र ढिलासुस्ती गर्नेबाट क्षतिपूर्ति लिइने स्पष्ट गर्नुभयो । ‘हामीलाई काममा विलम्ब स्वीकार्य छैन, यस्तो कार्यमा संलग्न देशभित्रका हुन् वा देश बाहिरका, तिनीहरुबाट क्षतिपूर्ति लिन्छौँ’, उहाँले भन्नुभयो । तामाकोशी आयोजनामा निर्माण कम्पनीले सामान्य समस्या देखाएर ढिलासुस्ती गरिरहेको तथा हरेक दिन पाँच करोड नोक्सान भइरहेको उहाँको भनाइ थियो ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सेवाग्राहीले सास्ती खेप्नुपरेका कारण अनलाइन सेवामा जोड दिइएको बताउनुभयो । “नापी र मालपोत कार्यालयमा सेवा लिन आउनेले दुःख पाउने गरेका छन्, सहज सेवा दिन हामीले यो सेवा शुरु गरेका हौँ’, उहाँले भन्नुभयो । अब सबैले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै डा. तुम्बाहाङ्फेले भावी सन्ततिका लागि यो अति आवश्यक भएको जनाउनुभयो । कर्मचारीका बारेमा जनगुनासो बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले कर्मचारीले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । ‘बेथितिको अन्त्य गर्न नेलिज र मेरो कित्ता ल्याएका हौँ’, डा तुम्बाहाङ्फेले भन्नुभयो ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले सेवा चुस्तदुरुस्त र प्रभावकारी बनाउन अनलाइन सेवाको शुरुआत गरिएको जनाउँदै चालु आर्थिक वर्षभित्र काठमाडौँ उपत्यका तथा आगामी आवदेखि देशभरका सबै मालपोत र नापी कार्यालयबाट सो सेवा उपलब्ध गराइने बताउनुभयो । भूमि व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सो सेवा आजदेखि काठमाडौँका कलङ्की र डिल्लीबजार तथा भक्तपुर कार्यालयबाट आरम्भ गरिएको जानकारी दिनुभयो ।
तस्बिर रासस