खरबारीमा लागेको डढेलो निभाउने क्रममा म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाँमा बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
पर्वतको जलजला गाउँपालिका–५ धौलापाराका ६० वर्षीय मनबहादुर गुरुङको डढेलो निभाउने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
आगोबाट बच्न भाग्ने क्रममा भीरबाट लडेका गुरुङको घटनास्थलमै मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताए । गुरुङ थामडाडास्थित मावली घरमा बसेर ज्यालादारी काम गर्दै आएका थिए ।
तमबहादुर बिकले आफ्नो बारीमा कसिङ्गर पोल्न लगाएको आगो धनबहादुर गुरुङको खरबारी हुँदै
थामडाडा सामुदायिक वनमा फैलिएको छ । तमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयबासीले डढेलो नियन्त्रणमा लिन खटिएका छन् ।
यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कमनाथमा रहेको फर्निचर उद्योगमा बिहीबार बिहान आगोलागी हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
केशव पाइजाले सञ्चालन गरेको पाखा पानी फर्निचर उद्योगमा आगोलागी भएको हो । बिहान करिब चार बजेदेखि सुरु भएको आगोलागी ६.३० बजेतिर नियन्त्रणमा आएको अमर मावि पाखापानीका प्रअ युकुमार गर्बुजाले बताए ।
स्थानीयबासी र पाखापानी प्रहरी चौकीको टोली आगो निभाउन खटिएका थिए । आगोलागीबाट उद्योगमा रहेका तयारी फर्निचरका साथै काठ जलेर नष्ट भएको छ । चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रअ गर्बुजाले बताए ।
लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डढेलोले २०७७ चैत मसान्तसम्म म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको बन सखाप पारेको डिभिजन वन कार्यालयले जनाएको छ ।
११४ ठाउँमा एक हजार ६३८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए ।