काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेको दरमा कोभिड–१९ को संक्रमण बढ्दै गए आगामी असारसम्म संक्रमितको संख्या ६ लाखसम्म पुग्नसक्ने बताएको छ । मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको संक्रमण दरलाई हेरेर यो प्रक्षेपण गरिएको बताए ।
“दैनिक ११ हजार संक्रमित थपिनसक्छन्, असारसम्म संक्रमितको संख्या ६ लाख पुग्नसक्छ । त्यसका लागि अहिले नै हामीले आवश्यक तयारी गरिरहेका छौँ,” उनले भने ।
मन्त्री त्रिपाठीले भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वारेन्टिन स्थलहरू थप गर्न लागिएको पनि
जानकारी दिए । यस्तै सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गर्ने काम भइरहेको पनि उनले बताए । मन्त्री त्रिपाठीले स्वास्थ्य सुरक्षा सामग्री अपुग भएका अस्पतालहरूमा सुरक्षा कवच, औषधिलगायतका सामग्री छिट्टै थप गरिने बताए ।