काठमाडौं । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ लादुकको चार गोलाई भन्ने स्थानमा गएराती जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । र्दुघटनामा अन्य १७ जना यात्रु घाइते भएको दोलखा प्रहरीले जानकारी दिएका छन् । प्रदेश नम्बर ३–०१–२३ च ७५८० नम्बरको यात्रुबाहक जीप गएराति ११ बजे दुर्घटनामा परेको थियो । २२ यात्रु सवार जीप सडकबाट खसेको बताइएको छ । जीपका चालक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।
घाइतेहरुको राजधानी र
दोलखा चरिकोटका अस्पतालहरुमा उपचार भैरहेको प्रहरी निरीक्षक कोइरालाको भनाइ छ ।
दुर्घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । गाउँपालिका अन्तरगतकै वडा नम्बर ३ बाट वडा नम्बर ४ तर्फ जाँदै गर्दा भित्री सडकमा दुर्घटना भएको जानकारी दिइएको छ ।
मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चण्डिका थापा रहेको प्रहरीले जनाएको छ ।