शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बाह्य दबाब, प्रलोभन र अतिक्रमणबाट सनातन धर्म जोगाउन पूर्व श्री ५ को आह्वान
भर्खरै

बाह्य दबाब, प्रलोभन र अतिक्रमणबाट सनातन धर्म जोगाउन पूर्व श्री ५ को आह्वान

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

कुम्भ मेलामा शाही स्नानमा सरिक हुन हरिद्वार पुग्नुभएका पूर्व श्री ५ ज्ञानेन्द्रले कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको अभिव्यक्ति दिनुभएको छ ।

हरिद्वारमा सुरु भएको कुम्भ मेलामा सम्बोधन गर्दै पूर्व श्री ५ ले नेपाल र भारतका कैयन देवस्थल, धाम एवम् अनेकौँ स्थानहरूले सदैव ‘सर्वे भवन्तु सुखिनः’को विश्वव्यापी मान्यता राख्ने र हाम्रो धर्म-सभ्यता, संस्कृतिका अनेक आदर्शहरूले विश्वकै मानवीय मुल्यलाई डोऱ्याउने बताउनुभयो ।

हाम्रो

हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै-सबै नै महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले अब हामीले हाम्रो धर्म बचाउनु पर्ने,संस्कृतिको रक्षा गर्नुपर्ने र हाम्रा मठ-मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्ने औंल्याउनुभयो ।

महाकुम्भ मेला हरिद्वार (२०२१) मा पूर्व श्री ५ द्वारा दिइएको उदबोधन जस्ताको तस्तै-

यो विशाल, यो पुण्य कार्य कृत्य र यो पवित्र धार्मिक सनातनिक एवम् सांस्कृतिक समारोहको आयोजक, यहाँ पाल्नुभएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि, मनिषी एवम् समस्त सन्त, महन्त, साधकहरू !

म सबै-सबैलाई नमन गर्दछु, दुई कर जोडेर बन्दन गर्दछु ।

गंगा तटमा अवस्थित यो पवित्र धाम, यो देवस्थल हरिद्वारको यो विशेष पुण्य कार्य र यो विशाल समारोहमा म यहाँहरूको निकटमा रही, दर्शन, अर्चन, वन्दनामा सरिक छु । यहाँहरूको श्रद्धायुक्त आमन्त्रण पाएर उपस्थित छु । यस निम्ति म गौरवान्वित छु । यहाँहरू सबैप्रति साधुवाद !

हाम्रा वेद र शास्त्रहरूको मत र मान्यतामुताविक मैले सुने-बुझेअनुसार कुम्भ घट अमृततत्वले भरिपुर्ण घट हो । सत्ययुगमा समून्द्र मन्थनबाट उत्पन्न अमृतका घडाहरू पहिले दानवहरूद्वारा लुटिएका थिए, ती घडाहरू पछि गरुडद्वारा खोजी गरी ल्याइएको र प्रयाग, हरिद्वार, नाशिक र आवन्तिक स्थलहरूमा खडा गरिएको थियो । सोही परम्पराअनुरुप हरेक बाह्र वर्षमा लाग्ने कुम्भ मेलाको विशिष्ट महत्व रहन गएको देखिन्छ । अमृतका तिनै कुम्भ घडाहरूबाट थोपा–थोपा गरी विभिन्न नद-नदीमा प्रवाहित भएकाले नै पूर्वीय दर्शनमा हाम्रा नद-नदीहरूको, हाम्रा पर्वतीय नदीीहरूको तथा विभिन्न वन वाटिकाहरूको धार्मिक र शास्त्रीय मान्यता रहन गएको हो । प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणाको कार्यमा अनुराग राखेर काम गरेको एक प्रकृतिपुजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु ।

जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइँदै लगिएको आजको प्रदूषणयूक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कुम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपूर्ण ढङ्गले बुझ्न सकिन्छ । हराभरा स्वच्छ प्रकति, निर्मल नद-नदी तथा तालतलैया एवम् समस्त वातावरणलाई प्रदुषणमुक्त बनाउने आजको विश्वव्यापी अभियानमा कुम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनूष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हुन्छन् भन्ने मेरो दृष्टिकोण छ ।

भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भुखण्ड, हाम्रा यी हिमश्रृंखला, हाम्रा यी अनेकौँ नद-नदीको महत्व महान् छ । हजारौँ वर्ष अघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म-परम्परा तथा सनातनिक संस्कृति विश्वमै बेजोड छ ।

हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै-सबै नै महत्वपूर्ण छन् । तिनको मननीय स्थान, हाम्रा विधि-व्यवहार, जीवन पद्धति, आचरण र अनुशलिन आफैमा गहन छन् ।

नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवम् अनेकौँ स्थानहरू यस्ता छन्, जसले सदैव सर्वे भवन्तु सुखिनःको विश्वव्यापी मान्यता राख्दछन् । हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूलाई तथा हाम्रा अनेकौँ रीतिस्थितिलाई के-कति बुझ्दछन् कुन्नी, तर सारभूत रूपमा भन्नुपर्दा हाम्रो धर्म-सभ्यता, संस्कृतिका अनेक आदर्शहरू विश्वकै मानवीय मुल्यलाई डो¥याउँदछन् ।

सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिएँ, बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्धमा लेख्नुभएको थियो । हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।

अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ, हाम्रा मठ-मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा गंगा नद-नदीहरूको प्रवाह स्वच्छ पार्नु छ । भगवान रामले भन्नुभएको थियो ‘अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपि गरीयसी’ भन्ने सद्युक्तिको ख्याल हामीले राख्नै पर्दछ ।

यिनै प्रयोजन हेतु यो महाकूम्भ मेलाको यो विशाल भेलाको र यहाँ उपस्थित सबै विद्वान्, विदुषी, सन्त-महात्माहरूको ध्यान पुगोस्- यही अवधारणा छ मेरो । फेरि पनि सबैमा साधुवाद । धन्यवाद !

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय