एजेन्सी । शुक्रवार देखि सुरु भएको १४औँ संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।
शुक्रबार राति भएको खेलमा बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित भएको हो ।
बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै मुम्बईले दिएको १ सय ६० रनको मध्यम लक्ष्य पुरा गर्यो ।
बैंगलोरका लागि एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए । बैंगलोरका लागि ग्लेन
म्याक्सवेलले २८ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडे। त्यस्तै कप्तान विराट कोहली ३३ रनको योगदान दिए । उनले २९ बलमा ४ चौका सहित ३३ रनको पारी खेले । खराब सुरुवात गरेको बैंगलोरका लागि कोहली र म्याक्सवेलले ५२ रनको साझेदारी गरेका थिए ।
वासिङटन सुन्दर १०, रजत पटिदरले ८ र क्ले जेमसनले ४ रनको योगदान दिए ।
मुम्बईका लागि मार्को जेनसन र जसप्रित बुम्राहले समान दुई– दुई विकेट लिए । कुर्नाल पाण्डेय, ट्रेन्ट बोल्टले एक-एक विकेट लिए।
यसअघि, पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो ।मुम्बईका क्रिस लिन अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए । ४९ रन बनाएर खेल्ने क्रममा उनी वासिङटन सुन्दरको बलमा क्याच हुँदै पेभिलियन फर्किए ।