सुदूरपश्चिममा तस्करले वन मास्दै गएकाप्रति चिन्ता त गरिन्छ नै, अहिले त्योभन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप पारेको आँकलन प्रदेश वन निर्देशनालयको छ । अत्यधिक गर्मी, त्यसमाथि हावाहुरी चल्दा यहाँ राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन्। डढेलोका कारण निस्कने धुँवाका कारण वायु प्रदूषण अर्को समस्या बनेर उभिएको छ।
धनगढीका प्रदेश वन निर्देशनालय सुदूरपश्चिम निर्देशक हेमराज विष्टका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोको मारमा पर्दैछ। ‘तराईबाट चुरेतर्फ हेर्दा ठाउँठाउँमा डढेलो लागेको देखिन्छ,’ उनले
भने, ‘आँखाले नभ्याउने ठाउँमा त डढेलो कति हो कति!’ उनले पर्याप्त जनशक्ति र उपकरण अभावले जंगलैभरि लागेको डढेलो निभाउन आफूहरू असमर्थ भएको बताए । ‘डढेलो निभाउन सक्ने दक्ष र पर्याप्त जनशक्ति छैन,’ उनले भने, ‘न त हामीसँग आधुनिक उपकरण नै छ।’ सामान्य औजार र उपकरण किनेर सामुदायिक वनलाई भने आफूहरूले दिएको उनले बताए। यो खबर आजको नागरिक दैनिकमा छ ।