राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिएका हुन् ।
आज शपथ लिएका मन्त्रीहरु यसअघि पनि सोहीमन्त्रालयको जिम्मेवारीमा थिए ।
चारै जना मन्त्री नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकामा पार्टी एकता र त्यसपछि कायम नेकपा (एमाले)को केन्द्रीय सदस्यमा
आवद्ध भएकाले माओवादी केन्द्रको सूचनाका आधारमा बिहीबार प्रतिनिधिसभा सदस्य रिक्त भएका घोषणा गरिएको थियो । सांसद नरहेपछि मन्त्रीमा कायम रहन नमिल्ने भएकाले उनीहरुलाई पुनः नियुक्त गरिएको हो । सांसद नभए पनि ६ महिनासम्म मन्त्रीमा नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।
pict:rss