कुनै बेला अन्डरवर्ल्ड माफिया डन दाउद इब्राहिमका दाहिने हात रहेका शार्प सुटर माफिया डन अमर टण्डन जेलमुक्त भएका छन् ।
२०६४ फागुन १२ मा अज्ञातस्थलबाट पक्राउ परी विभिन्न कारागार हुँदै १३ वर्ष १ महिना जेल जीवन बिताएपछि उनी अदालतको आदेशमा केन्द्रीय कारागार, जगन्नाथदेवलबाट यही चैत्र ११ गते मुक्त भएका हुन् ।
कैयौँ दर्जन बारदातलाई अन्जाम दिएका डन टण्डन केवल ६ वटा केसको सजाय भुक्तान गर्दागर्दै कैद हद भएका कारण जेलमुक्त भएका हुन्, जसमाथि लागूऔषध, अपहरण तथा शरीर बन्धक,
भागे-भगाएको र ज्यान मार्ने उद्योग आदि मुद्दा छन् ।
नक्कली भारु तथा लागु औषध कारोबारी युनुस अन्सारी गोलीकाण्डमा मुछिएका डन टण्डनको पूर्वमन्त्री मिर्जा दिलसाद वेग, स्पेसटाइम टीभी च्यानलका मालिक जमिम शाहको हत्याकाण्डमा पनि उच्च प्राथमिकताका साथ नाम जोडिएको छ ।
झट्ट हेर्दा दाउद इब्राहिम जस्तै देखिने डन टण्डन लामो समयसम्म दाउद, छोटा राजन, युपीका डन बब्लु श्रीवास्तव, बृजेश सिंह र मुख्तार अन्सारी जस्ता ग्याङ्गस्टारहरूसँग रही खतरनाक वारदातहरूलाई अन्जाम दिन्थे ।
मुम्बई ब्लाष्टपछि अन्डरवर्ल्ड डन दाउदसँग अलग भई छोटा राजनसँग मिलेर अन्तर्राष्ट्रिय गिरोह चलाएका ग्याङ्गस्टार टण्डन विशेषगरी इस्लामिक आतंक र भारतविरोधि गतिविधि र तत्वहरूप्रति क्रूद्ध रहँदै आएका छन् ।
सुत्रका अनुसार डन टण्डनले नेपालमा हुने नक्कली भारु तथा लागूऔषध कारोबार र अवैध सुन तस्कर आदि गर्ने संदिग्ध व्यक्तिहरूलाई तार्गेट राख्ने गरेका छन्, जुन विगतका घटना क्रमहरूले पुष्टि गर्दछन् ।
त्यसैगरी, नेपाललाई प्लेग्राउण्ड बनाउने आईएसआईका एजेण्ट, कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्ने मारवाडी, उच्च ओहोदाका भ्रष्ट कर्मचारी, तस्कर, दलाल र हाइड्रो टाइकुनहरू पनि उनको टार्गेटमा पर्ने गरेका छन् ।
बेला-बेलामा यस्ता अपराधीहरूका महाकाल बनेका टण्डन रिहाई भएलगत्तै उक्त संदिघ्न जगत फेरि त्रसित बन्न पुगेको छ र, नक्कली भारु तथा अवैध सुनका कारोबारीहरू असुरक्षित रहेको सुत्रको दाबी छ ।
डन टण्डनको रिहाईले जेलभित्र र बाहिरका नक्कली भारु कारोबारी लगायतका अपराधीहरू सुरक्षित होलान्, नहोलान्- त्यो भविष्यले बताउला, तर सरकार, प्रहरी, प्रशासन र सम्बन्धित पक्षलाई भने कडा चुनौती थपिएको सम्बद्ध सुत्र बताउँछ ।