काठमाडौं । बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे मात्रै पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगो निभाउनका लागि पाँचवटा दमकल
प्रयोग गरिएको थियो ।
स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो ।
जुम्लामा आगलागी हुँदा ३५ घर नष्ट
यसैगरी जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।
पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने, ‘आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।’
यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएका थिए ।