काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा निर्णयमा पुग्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी भएको एक स्थायी कमिटी सदस्य जानकारी दिए ।
‘ समर्थन फिर्तासँगै अविश्वासको प्रस्तावलाई पनि कसरी मुभ गराउने भन्ने प्राविधिक पक्षबारे पनि आज छलफल गर्छौँ, यसबारे कांग्रेस र जसपासँग भएको अनौपचारिक समझदारीबारे अध्यक्ष प्रचण्डले जानकारी गराउँनु हुनेछ,’ ती सदस्यले भने ।
कांग्रेसले गत शुक्रबारको केन्द्रीय कमिटी बैठकमार्फत ओलीको
राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्र समर्थन फिर्ताको तयारीमा पुगेको हो ।केन्द्रका अध्यक्ष दाहालले शनिबार नै कपिलवस्तुमा आयोजित एक कार्यक्रमा राजनीतिले ‘कोल्टे फेरेको’ र केही दिनभित्रै नयाँ सरकार बनाउने अभिव्यक्ति दिएका थिए ।
शनिबार नै समर्थन फिर्ता लिए तत्कालै राजीनामा दिने प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएपछि ओली इतरका राजनीतिक दल ओलीलाई अविश्वासको प्रस्ताव लगेर संसदमा फेस गर्न बाध्य पार्ने रणनीतिमा छन् ।तर, अविश्वासको प्रस्ताव अघि बढाएमा ओलीले राजीनामा दिने वा त्यसअघि नै संसद अधिवेशन अन्त्य गर्न सक्ने विकल्प रहेको बताइन्छ । ओलीले राजीनामा संविधानको धारा ७६ मा भएका विभिन्न विकल्पहरूको सरकार बन्ने बाटो खुल्ला हुनेछ ।