तराइ मधेशमा विभाजनकारी मानसिकताको विस्तार गर्न बहुराष्ट्रियताको मुद्दासहित खटिएका बाबुराम भट्टराई मधेशकेन्द्रीत दलबाट पनि बाहिरिनुपर्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध झाँक्रीशैलीमा उफ्रिपाफ्री गर्दै आएका बाबुराम हाल सम्बद्ध रहेको पार्टी (जसपा)ले आफ्नो इच्छा विपरीत केपीसँग सत्ता गठबन्धन गर्ने सम्भावना बढेसँगै बाबुराममा नयाँ छटपटी पैदा भएको हो ।
केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने आफ्नो अडान बदल्ने पक्षमा पनि बाबुराम अहिलेसम्म छैनन् र, जसपालाई सरकारमा जानबाट रोक्न सक्ने हैसियतमा पनि उनी छैनन् । पार्टीका बहुसङ्ख्यक सांसदहरू नेकपा एमालेसँग सत्ता साझेदारी
गर्ने मानसिकतामा रहेको र, केन्द्रीय कार्य समितिमा समेत आफूहरू अल्पमतमा पर्ने अवस्था देखिएपछि बाबुराम अन्यौलमा परेका छन् । अब ‘आफ्नै पार्टी’ सरकारमा गए पनि सत्तारुढ पक्षमा रुपान्तरित भएको अनुभूति गर्न नसक्ने–नपाउने स्थितिमा उनी छन् ।
बाबुरामलाई यतिबेला पूर्वमाओवादी उपेन्द्र यादवको साथ रहेको त छ, तर त्यो पनि कति दिनको हुने हो यकीन छैन । उपेन्द्र आफैं पनि केपी ओलीसँग सम्बन्ध सुधार गरिदिने भरपर्दो सूत्रहरूको खोजीमा छन् र, यस क्रममा यादव विराटनगरका चर्चित पर्शुराम बस्नेतसम्म पुगेको बुझिएको छ । बस्नेतसँग ओलीको पहिलेझैँ न्यानो सम्बन्ध नभएको जानकारी पाएको भए यादव सम्भवतः बस्नेतसम्म पुग्ने थिएनन् । जे होस्, अब बाबुराम फेरि छुट्टै दल गठन गर्नुपर्ने निर्णयमा पुग्न सक्ने सम्भावना बढेको छ ।
जीवनको शुरुवातमा काङ्ग्रेसनिकट रहेका बाबुराम ऋषिकेश शाहको सङ्गतमा पुगेसँगै बामपन्थी कम्युनिष्ट बनेका थिए । नेकपा चौथो महाधिवेशनसँग जोडिएर राजनीतिक क्रियाकलापमा संलग्न उनी २०४० सालमा चौथो महाधिवेशन विभाजित भएर बनेको नेकपा मशालतिर लागे । मोहन वैद्य नेतृत्वको मशाल २०४२ सालमा विभाजन भएपछि उनी मोहनविक्रम सिंह नेतृत्वको मसालतर्फ उभिए । २०४७ सालमा ‘अरु त्यस्तै हो, माक्र्सवादसम्म चाहिँ भनिदिउँ’ भन्दै संयुक्त जनमोर्चा नामक दल खोलेर अध्यक्ष बनेका बाबुराम २०५२ सालमा माओवादी बनेर भूमिगत भइ हिंसात्मक क्रियाकलापमा संलग्न भए ।
माओवादीकै रूपमा प्रधानमन्त्री बनिसकेपछि उनले ‘कम्युनिष्ट आन्दोलनको औचित्य नरहेको’ भन्दै नयाँ शक्ति नामको दल खोले । तर बाबुराम टिक्न सकेनन्, २०७४ को असोजमा नेकपा एमाले र माओवादीबीच एकता घोषणा हुने खबर पाएपछि उनी हस्याङफस्याङ गर्दै राष्ट्रिय सभागृह पुगेर ‘कम्युनिष्टहरूबीचको एकता आफ्नो पुरानो सपना भएको’ बताउँदै कम्युनिष्ट मात्र सही भएको घोषणा गर्न पुगे । तर एकिकृत कम्युनिष्ट पार्टीमा आफ्नो स्थान नदेखेपछि केही दिनमै उनले कम्युनिष्ट पार्टी छोडेर ‘काङ्ग्रेसबिना समृद्धि असम्भव’ भन्दै बुढानिलकण्ठतिर लागेका थिए । काङ्ग्रेसको वैशाखीमा गोर्खाबाट चुनाव जितेका बाबुराम सांसद बनेको केही समयपछि ‘अब बहुराष्ट्रिय राज्य बनाउने’ भन्दै उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नामक दलमा प्रवेश गरे ।
दुई वटा मधेशकेन्द्रीत समूहलाई ‘एक’ बनाएर आफू ठूलो पार्टीको नेता बन्ने सपना गत वर्षको वैशाखमा पुरा गरेका बाबुराम आफ्नै पार्टी (जसपा) मा पनि अब बिरानो बन्ने अवस्थामा पुगेका छन् । उमेरले सातौँ दशक प्रवेश गर्न लागेका उनले कतिपटक विचार र पार्टी बदल्ने हुन्, त्यसको अनुमान गर्न सकिँदैन, तर नेपालको इतिहासमै सबभन्दा धेरै पटक दल र विचार बदल्ने व्यक्तिको कीर्तिमान राख्न उनी अहिले नै सफल भइसकेका छन् ।