एजेन्सी । फिफा विश्वकप छनोट फुटबल खेलमा पोर्चुगल विजयी भएको छ । युरोपेली समूहको विश्वकप छनौट खेल अन्तर्गत क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले जित हात पारेको हो ।
समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ गोल अन्तरले हरायो हो । पोर्चुगललाई जिताउन क्रिष्टियानो रोनाल्डो, डियोगो जोटा र जोआओ पाल्हिन्हाले १–१ गोल गरे ।
यस्तै बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित हात पारेको छ । समूह ईको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले हरायो ।हान भानाकेन र लियान्द्रो त्रोसार्दले समान २–२ गोल गर्दा
मिचि बात्सुयायी, जेरेमी डोकु, डेनिस प्राएट र क्रिष्टियन बेन्टेकेले १–१ गोल गरे । यो समूहको अर्को खेलमा वेल्सले चेक रिपब्लिकलाई १–० गोल अन्तरले हरायो ।
त्यस्तै समूह जी को खेलमा नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोल अन्तरले हरायो । मेम्फिस डिपेले २ गोल गरेको खेलमा स्टेभेन बर्घुइस, ल्युक डे जोङ, जर्जिन्हो विज्नाल्डम, डोन्येल मालेन र डोनी भान डे बीकले १–१ गोल गरे ।
समूहका अन्य खेलमा नर्वेले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्दा टर्की र लात्भियाले समान ३–३ गोलको बराबरी खेल्यो ।
अर्को खेलमा सर्बियाले अजरबैजानलाई २–१ गोल अन्तरले हरायो । समूह एचको खेलमा साइप्रसले स्लोभेनियालाई १–०, क्रोएसियाले माल्टालाई ३–० ले र स्लोभाकियाले रुसलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।