दुई महिनाअघि ‘खोपमैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई कोभिड-१९ विरुद्धको दश लाख थान खोप प्रदान गरेको मित्रराष्ट्र भारतले पुनः एक लाख थान खोप उपलब्ध गराएको छ । यसपटक भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई एक लाख थान कोभिशिल्ड खोप उपहारस्वरुप प्रदान गरिएको हो ।
भारतले अघि बढाएको यो प्रयास दुई देशबीचको विशेष सम्बन्धको अर्को एक उदाहरण हुनुका साथै भारतले आफ्नो छिमेकीप्रति देखाएको सदासयता पुष्टि भएको रूपमा यसलाई लिइएको छ ।
भारतले अवलम्बन गरेको ‘छिमेकी पहिलो’ नीतिअनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित एक समारोहका बीच भिडियो कन्फरेन्समार्फत उक्त खोप प्रदान गर्नुभयो । भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बेलुकी ल्याइएको उक्त खोप नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गर्नुभएको हो ।
स्मरण रहोस्, जनरल नरवणे नेपाली सेनाका मानार्थ महारथी पनि हुन् । गत नोभेम्बरमा भएको नेपाल भ्रमणका क्रममा नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो ।