घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सोमबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।
ट्रयाक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेर फरार रहेका चालक गल्याङ-८ बंग्राती बस्ने २७ वर्षीय अमित परियारलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार यही चैत ५ गते राति ८ बजेको समयमा गल्याङ–९ स्थित कालीगण्डकी नदीको साँखरघाटबाट बालुवा लिएर आउँदै गरेको ट्रयाक्टरमा रहेका तीन जनामध्ये एकजना खसेपछि सोही
ट्रयाक्टरले किचेर घाइते भएका सहचालक रानालाई चालक परियारले कालीगण्डकीमा लगेर बगाइदिएका थिए ।
उक्त घटनाका प्रमुख प्रतिवादी ट्रयाक्टर चालक परियार श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङले रुपन्देहीको बेलहिया नाकाबाट गत शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका चालक परियारलाई स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोही घटना संलग्न ट्रयाक्टरका अर्का सहचालक गल्याङ–८ बंग्रातीका २१ वर्षीय सुनिल राना चैत ८ गते पक्राउ परेका थिए । घटनास्थलबाट प्रहरीले मृतकको एकजोर चप्पल तथा रगत लागेको ढुङ्गासहित अस्थायी नम्बर प्लेट लुअफ १०१२ ट्रयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।