काठमाडौँ । मेलम्चीको पानी आजदेखि काठमाडौँ उपत्यकाबासीको धारामा वितरण शुरू भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको महांकाल चौरमा भण्डारण गरेर राखिएको पानी एक कार्यक्रमबीच खानेपानी वितरण प्रणालीमा पठाइएको हो । दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल)का निर्देशक मिलन शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महांकाल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ चाबी खोलेर भण्डारण गरिएको पानी वितरण
प्रणालीमा पानी पठाए ।
पानी पठाइएको आधा घण्टामा पानी उपभोक्ताको घरको धारामा पानी पुग्ने बताइएको छ । अहिले चाबहिल, मित्रपार्क, बत्तिसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको हो ।