काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न ठाउँमा आज पनि प्रदूषित वायुमा खतरा तह घटेको छ ।
शुक्रबार र शनिबार विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरको सूचीमा क्रमश पहिलो र दोस्रो स्थानमा रहेको काठमाडौँ आज यो समाचार तयार पार्दासम्म ११औँ स्थानमा झरेको छ ।
तर, प्रदूषणको अवस्थामा भने खासै सुधार देखिएको छैन । वातावरण विभागको प्रदूषण मापक यन्त्रले बिहान साढे ८ बजे गरेको मापनमा आज सबैभन्दा धेरै प्रदूषणा सिमरामा देखिएको छ । सिमरामा अहिलेको एक्यूआई (एयर क्वालिटी इन्डेक्स)३६३ मापन गरिएको छ ।यस्तै काठमाडौँ
उपत्यकामा पनि आज वायुको गुणस्तर सूचक ३ सयभन्दा धेरै नै छ । भैँसेपाटी स्टेशनले गरेको मापनअनुसार हावाको गुणस्तर ३३२ एक्यूआई छ ।
२ सयभन्दा धेरैलाई हानिकारक र ३ सयभन्दा धेरैलाई उच्च हानिकारकको रुपमा लिने गरिन्छ ।
शनिबार र आज आइतबार पनि सार्जजनिक बिदाले गाडीको चाप घटेकाले प्रदूषण केही घटेको विभागको ठम्याई छ । तथापि प्रदूषणको घातक स्तर नघटेकाले यही अवस्था कायम रहे सोमबार थप कदम चाल्न सकिने विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए ।
सोमबार साँझदेखि प्रदूषण हट्न सक्छ
जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझदेखि काठमाडौँ उपत्यकाको प्रदूषण हट्ने सम्भावना रहेको जनाएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार सोमबारबाट पश्चिमी मौसमी प्रणाली भित्रिँने र उक्त प्रणाली सक्रिय भएमा प्रदूषण केही कम हुन सक्नेछ ।
प्रदूषण कायमै रहँदा काठमाडौंमा आज बिहान भिजिविलिटी (पारदर्शिता) १ हजार ५०० मिटर मात्र छ । दिउँसो यो अझै तल झर्न सक्ने कँडेलले बताइन् ।