जापानको इबाराकी प्रिफेक्चर चुचिउरा शहरमा एक यात्रुबाहक रेल कारसँग ठक्कर खाँदा आगलागी भएको छ । जेआर जोबन लाइनको रेल र एक कार शुक्रबार बिहान ठोक्किन पुगेका हुन् । ठक्करपछि कार आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ भने रेलको करिव आधा भागमा आगलागी भएको छ ।
प्रहरी अधिकारीहरुका अनुसार घटना मार्च २६ तारिख मध्यरातको समयमा भएको हो । घटनाको समयमा रेलमा यात्रु र चालकसहित ६४ जना यात्रारत थिए । आगलागीबाट रेलको एक तिहाई भाग नष्ट भए पनि यात्रुहरु सकुशल उत्रन भ्याएका
छन् । आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको अग्निनियन्त्रकहरुले बताएका छन् ।
सिसिटिभी फुटेजमा देखिएअनुसार एक चालकले कार रेलको ट्रयाकमा ल्याई रोकेर आफू भागेको देखिएको छ । फरार अभियुक्तको खोजी कार्य थालिएको प्रहरीले जानकारी गराएको छ । रेल नियमित समयमा गुडिरहँदा इबाराकी प्रिफेक्चर चुचिरा शहरमा मध्यरात १ बजे कारसँग जुध्न पुगेको हो ।
जापान यातायात सुरक्षा बोर्डले घटनालाई गम्भीर रुपमा लिँदै दुर्घटनाको अनसन्धान गर्न दुई अन्वेषकहरू पठाएको छ । प्रहरीले घटना गराएको गाडीलाई शंकास्पद रुपमा यसअघि पिछा गरिएको समेत बताएको छ ।
हालका लागि जेआर जोबन लाइनका सबै सीमित एक्सप्रेस ट्रेन सञ्चालन बन्द गरिएको छ । यसबाहेक नियमित ट्रेनहरू पनि सुचिउरा स्टेशन र होतोरी स्टेशन बीचमा बन्द गरिएको छ ।