काठमाडौँ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको आफ्नो पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सीमित किर्गिस्तानको यू-२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाली खेलाडी किर्गिस्तानमाथि हाबी भए पनि जीत निकाल्न सकेनन् । गोल गर्ने थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमै रोकिएको हो ।
खेलको चौंथो मिनेटमा तेज तामाङ फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको दशौँ मिनेटमा त्रिदेभ गुरुङको कर्नरमा अनन्त तामाङको
हेड बल समेत पोस्ट नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउन चुकेको थियो ।
खेलको १४ औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लाग्दै फर्किदा नेपाल पुन अग्रता बनाउन चुकेको थियो । खेलको ३३ औं मिनेटमा रबी पासवानको पासमा अन्जनले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको सुरुवातमा किर्गिस्तानले नेपालविरुद्ध केहि आक्रमण गर्यो । खेलको ६७ औं मिनेटमा कप्तान टासिभ कामोलिदीन दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो ।
यो बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना छ ।
यस खेलको नतिजाले बंगलादेश भने फाइनल पुगेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । बंगलादेशको १ खेलमा ३ अंक छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।
अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।