‘अपाङ्गता हुँदैमा जिन्दगीको अन्त्य हुँदैन’ भन्ने भावना बोकेर मेची महाकाली यात्रामा निस्किएका ३८ वर्षीय रामबहादुर गोले (तामाङ) लामो ह्विलचेयर यात्रा गरेर गिनिज बुकमा रेकर्ड कायम गर्न चाहन्छन् । सोही सपना बोकेर गोले मेचीबाट ह्विलचेयरको यात्रा गरी कञ्चनपुरसम्म आइपुगेका छन् ।
मेचीको काँकडभित्ताबाट ह्विलचेयर चढेर यात्रामा निस्किएका गोले २६ दिन लगाएर यहाँ आइपुगेका हुन् । ‘स्पाइनल कर्ड इन्जुरी’ (मेरुदण्डको पक्षाघात) भएका उनी भन्छन्, दृढ इच्छा शक्ति भए फरक क्षमता भएका व्यक्ति पनि सपाङ्गझैँ समाजमा काम गर्न सक्छन् भन्ने उद्देश्यसहित ह्विलचेयरको पहुँच
बढाउनका लागि यात्राको थालनी गरेको छु ।’
लुम्बिनीदेखि भारतको बोधगया (बिहार) सम्मको करिब ५५० किलोमिटर लामो यात्रा र नमबुद्धदेखि ३६६ किमी ह्विलचेयरबाट उनले यात्रा पूरा गरिसकेका छन् । लामो यात्रा गरे पनि त्यो यात्रा सोखका लागि मात्रै गरेको उनले बताए । ती यात्राको त्यति प्रचार नगरेको बताउँदै उनले मेची महाकाली यात्रा तेस्रो रहेको जानकारी दिए ।
“मलाई घुमिरहन, नयाँ मान्छे भेट्न मन पर्छ तर हाम्रो समाज, राज्य हामीजस्तालाई भित्रभित्रै गुम्साइरहने खालको छ । विभिन्न चुनौतीको सामना गर्दै यात्रामा निस्केको छु”, उनी भन्छन् । दाताको सहयोगमा उनले यहाँसम्मको कठिन यात्रा पूरा गरेका हुन् । बस दुर्घटनामा परी घाइते भएका गोलेको उपचारपछि कम्मरमुनिको भाग चल्दैन । सोही दुर्घटनामा परेर उनले एउटा आँखा पनि गुमाएका छन् । उनी हिँड्ने भनेकै ह्विलचेयरले हो ।
ह्विलचेयरमा कञ्चनपुर आइपुगेका उनले स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा दौँतरी परामर्शदाताका रूपमा काम गर्दै आएका छन् । बास्केटबल खेल्ने, स्वीमिङ गर्ने कार्यसँगै अपाङ्गता भएकालाई पुनःस्थापना केन्द्रमा तालीम दिने कार्य गर्दै आएको उनको भनाइ छ । ‘जीवन सोचेभन्दा रमाइलो छ, जिउन जान्नुपर्छ । अपाङ्गता भएकामा भाग्यलाई सम्झेर बस्दिनँ । भाग्यमानी ठान्छु । अपाङ्गता नभएको भए मैले जिन्दगी बुझ्ने थिइनहोला,’ उनले भने । विसं २०६७ पुस १८ गते साथीहरूसँगै खासा घुम्न गएको बेला दोलालघाटको चौबन्ने किलोमा बस दुर्घटनामा पर्दा गोले अपाङ्ग भएका हुन् ।
सबैभन्दा लामो ह्विलचेयर यात्रा गरेर गोले विश्व कीर्तिमान राख्न चाहन्छन् । ‘गिनिज बुकमा ह्विलचेयरमा सबैभन्दा लामो दूरी पार गर्ने व्यक्तिका रूपमा रेकर्ड राख्न चाहन्छु’, उनले भने, ‘विगतका लामा यात्रालाई चर्चामा ल्याउन नसक्दा लक्ष्य पूरा हुन सकेन । अब लक्ष्य पूरा नहुँदासम्म यात्रा जारी रहन्छ ।’
हाल ह्विलचेयरमा लामो दूरी पार गर्नेमा भारतका सुरेन्द्र यादव र शैलेन्द्र हसनको नाम गिनिजबुकमा कायम छ । दुवै जनाले २५० किलोमिटर यात्रा पूरा गरेर रेकर्ड राखेका हुन् । आज बिहान ८ बजे कञ्चनपुरको गड्डाचौकीमा यात्राको समापन गरिने उनले बताए । यात्रामा उनसँगै उनका भतिजा मानबहादुर तामाङ सहयोगीका रूपमा सँगै रहेका छन् । मेची महाकाली यात्रामा निस्केका गोलेका श्रीमतीसँगै एक छोरा र एक छोरी रहेका छन् । उनी भन्छन्, ‘अपाङ्गता भएका व्यक्तिले पनि समाजमा गहिरो सन्देश दिने गरी कार्य सक्छन् । प्रेरणादायी कार्य गरेर देखाउन सक्नुपर्छ । त्यसका लागि हिम्मत र आँट देखाउनुपर्छ ।’