धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा चैत्र १२ देखि २४ गते सम्म आयोजना गर्न लागिएको प्रथम गजुरी महोत्सव स्थगित भएको छ । समग्र धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना भन्ने मूल नाराका साथ साना तथा मझौला व्यावसायी महासंघ धादिङले आयोजना गर्न लागेको महोत्सवको अन्तिम तयारी भइसकेको अवस्थामा कोरोना भाइरस जोखिमका कारण स्थगित भएको आयोजकले जनाएको छ ।
आयोजकले आज बिहान पत्रकार सम्मेलन गर्दै अर्को निर्णय नभए सम्मको लागि महोत्सव स्थगित भएको जानकारी दिएको हो । आयोजकले
महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचार प्रसारलाई तीव्र बनाएको थियो । हिजो मात्रै गजुरी गाउँपालिकाले एक सूचना जारी गरी कोरोना जोखिमलाई मध्यनजर गर्दै गजुरी गाउँपालिकामा कुनै सभा, जुलुस,र्याली, भेला ,जमघट, गोष्ठि ,सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय जा कार्यहरु नगर्न अनुरोध गरेको थियो ।
गाउँपालिकाले जोखिम बढ्नसक्ने भन्दै नागरिकहरुलाई सामाजिक/भौतिक दुरी,मास्कको अनिवार्य र उचित प्रयोग तथा बारम्बार सावुन पानिले हात धुन,स्यानिटाईजर प्रयोग लगाएत जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत अनुरोध गरेको छ । भारतमा कोरोना संक्रमण फेरी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
मन्त्रालयले केहि दिन अघिमात्रै एक सूचना जारी गर्दै सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ । यस्तै सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवन लगायतलाई क्वारेन्टिन र आइसोलेसन बनाइएको थियो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टिन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ। गृहले होटल रेस्टुराँ, डान्सक्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार प्रशासनलाई दिइएको छ ।