डडेल्धुरामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका-५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीया श्रीमती मनिषा साउदको हत्या गरेको अरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
साउदले डेढ फिटको चिर्पटले हिर्काएर श्रीमतीको हत्या गरेको डडेल्धुराका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे फोनबाट खबर गरेको प्रहरीको भनाइ छ ।
श्रीमतीको हत्या गरेका साउदलाई शनिबार राति नै प्रहरीले
पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरी नायब निरीक्षक चन्दले बताए । श्रीमान-श्रीमतीबीच सामान्य घरायसी विवाद हुँदा हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
‘म बाहिर थिएँ, घरमा आउँदा श्रीमती रक्ताम्य देखेँ, मृत्यु भइसकेको जस्तो छ’ भन्दै साउदले प्रहरीकहाँ खबर गरेको प्रहरीले जनाएको छ । उक्त खबरपछि प्रहरीको टोली त्यहाँ गएर हेर्दा मनिषाको मृत्यु भइसकेको थियो । पछि प्रहरीसमक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका प्रनि चन्दले जानकारी दिए ।
एक छोरी र एक छोरा गरी दुई सन्तानकी आमा मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।