नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दोहोऱ्याएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दलीय रुपमा भाग लिँदै मन्त्री ज्ञवालीले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आएसँगै नेपाल द्वन्द्वमुक्त भएको दाबी गरे । यो महत्वपूर्ण उपलब्धि हो भन्दै उनले संसद्को प्रारम्भमै पेश हुनुपर्ने अध्यादेशका विषयमा सबै राजनीतिक दलबीच एकै मत र समान धारणा हुनुपर्ने धारणा पनि राखे । मन्त्री ज्ञवालीले निश्चित व्यक्ति प्रधानमन्त्री हुन पाए अग्रगमन नभए प्रतिगमन भन्ने बुझाइ अन्त्य हुनुपर्ने भन्दै ओली हटाउ
अभियानमा लागेका प्रचण्ड र उनलाई साथ दिँदै आएका माधव नेपालतर्फ ब्यंग्य गरे ।
प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ ढङ्गले जान खोजे पनि अहिलेको वातावरणले अझै राम्रो सङ्केत नगरेको मन्त्री ज्ञवालीको भनाइ थियो । सर्वोच्च अदालतको फैसलापछि यही संसद्बाट नै राजनीतिक स्थायित्व खोज्ने बाध्यात्मक स्थिति आएको भन्दै उनले सरकारले अदालतलाई कुनै आक्षेप नलगाएको स्पष्टिकरण दिए । उनले विसं २०७२ मा संविधान जारी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै अहिले संविधान सबैको सर्वस्वीकार्य दस्तावेज बनेको उल्लेख गरे ।
सरकारले तीन वर्षमा महत्वपूर्ण काम गरेको दाबी गर्दै मन्त्री ज्ञवालीले नेपालको निधारमा लागेको अल्पविकसितको टीका निकट भविष्यमै हट्ने विश्वास व्यक्त गरे । सरकारले मेलम्ची खानेपानी योजना, सुनकोशी डाइभर्सन, नागढुङ्गा सुरुङमार्गलगायत महत्वपूर्ण काम गरेको स्पष्ट गरे । ‘मेलम्चीको पानी सुन्दरीजलमा पुगेको छ, अर्को हप्ता काठमाडौंवासीको धारामा पानी झर्छ, पाँच जिल्लाको विकास गर्ने सुनकोशी डाइभर्सनको शिलान्यास गरेका छौँ, घण्टौँ जाममा परेर बिरामीले एम्बुलेन्सभित्रै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न नागढुङ्गा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ’ भन्दै मन्त्री ज्ञवालीले सगरमाथाको उचाइ नेपाल आफैले मापन गरेको उनले उल्लेख गरे ।
मन्त्री ज्ञवालीले जनतालाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले देशभर ३९६ अस्पतालको शिलान्यास गरेको उल्लेख गर्दै तामाकोशीको विद्युत् चाँडै बाल्न पाउने बताए । सरकारले कोभिड-१९ नियन्त्रण र रोकथाममा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै मन्त्री ज्ञवालीले कोरोनाबाट निको हुनेको सङ्ख्या ९८ प्रतिशत रहेको उल्लेख गरे ।
विश्वका ६० मुलुकले शुरुआतमै आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालले पनि प्रारम्भमै नागरिकलाई खोप उपलब्ध गराएको भन्दै गौरव गरे । हामीले १७ लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइसकेका छौँ भन्दै उनले कोरोनाविरुद्धको खोप उपलब्ध गराएकामा मन्त्री ज्ञवालीले भारत, चीन र संयुक्त राष्ट्रसङ्घप्रति आभार प्रकट गरे ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको आशन्न बङ्गलादेशको मैत्रीपूर्ण औपचारिक भ्रमणबारे सदनलाई जानकारी गराउँदै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले यही चैत ९ देखि १० गतेसम्म गर्ने बङ्गलादेशको भ्रमणबाट दुई देशको सम्बन्ध थप सुमधुर हुने जिकिर गरे ।