काठमाडौँ । काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल हेर्न टिकट दर सात सय र १५ सय रुपैयाँ तोकिएको छ ।
यही चैत १० देखि १६ गतेसम्म नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ ।
उक्त खेल हेर्न साधारणतर्फ सात सय र विशिष्टतर्फ १५ सय रुपैयाँ टिकट तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । रंगशालामा १५ हजार दर्शक क्षमता भए पनि १२ हजार वटा टिकट मात्र बिक्री गरिने एन्फाले जनाएको छ ।
जनरलतर्फ ७०० र भीआईपीतर्फ
१५०० वटा टिकट बिक्री गरिने एन्फा प्रवक्ता किरण राईले बताए । यो प्रतियोगिता सञ्चालन गर्न १ करोड रुपैयाँ खर्च लाग्ने र टिकट बिक्री तथा टेलिभिजन प्रशारण अनुमति बिक्रीबाट १ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य रहेको राईले जानकारी दिए ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बिहीबार आयोजित पत्रकार सम्मेलमा प्रवक्ता राईले बताए ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले पाँच सय डलर र हरेक खेलको म्यान अफ दि म्याचले २५० डलर पुरस्कार पाउनेछन् ।
त्रिदेशीय कपमा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछ ।