सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काम्बोडियाका प्रधानमन्त्री दम्पतीसहित विशिष्टहरूलाई कोरोनाको खोप
भर्खरै

काम्बोडियाका प्रधानमन्त्री दम्पतीसहित विशिष्टहरूलाई कोरोनाको खोप

  • सिधा दृष्टी बुधबार, फाल्गुन २६, २०७७ | March 10, 2021

एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री दम्पतीले कोरोनाभाइरसविरुद्धको खोप लगाउनु भएको छ ।

प्रधानमन्त्री सम्देच हुन सेन र उहाँकी श्रीमतीले भारतमा बनेको खोप बुधबार लगाउनु भएको अधिकारीहरूले जनाएका छन् । “प्रधानमन्त्री हुन सेनले भारतमा बनेको खोप लगाउनु भएको छ, उहाँसँगै उच्च सरकारी अधिकारीहरूले पनि खोप लगाउनु भएको छ,” कम्बोडियास्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

दूतावासका अनुसार संसद्का अध्यक्ष, उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य मन्त्री, सार्वजनिक यातायात मन्त्रीलगायतले पनि भारतमा बनेको कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । समुदायस्तरमा कोरोनाभाइरसको महामारी फैलिँदै

गएकाले कम्बोडियामा अनिश्चितकालका लागि खेल गतिविधिहरू बन्द गरिएको छ ।

कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । “पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा अत्यधिक वृद्धि भइरहेको छ,” शिक्षा, युवा तथा खेलकुद मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुदका गतिविधिहरू नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ । जीम, खेल क्लबहरू, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षणलगायतका कुनै पनि गतिविधि गर्न नपाइने वक्तव्यमा उल्लेख गरिएको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्रसमेत बन्द गरिएको छ । त्यसैगरी भीडभाड हुने अन्य गतिविधिहरूका लागि पनि प्रतिबन्ध लगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

भारतले गत फेब्रुअरी ६ मा कम्बोडियालाई भारतमा बनाइएको एक लाख खोप उपलब्ध गराउने निर्णय गरेको थियो । भारतको सो निर्णयबाट भारत र कम्बोडियाको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको पनि अधिकारीहरूले बताएका छन् ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनको आग्रहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गर्दै कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको थियो । भारतले गत जनवरी २० देखि भूटान, माल्दीभ्स, बहराइन, नेपाल, बङ्लादेश, म्यानमार, श्रीलङ्कालगायतका देशहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ ।

भारतमा पनि उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्चपदाधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । उहाँहरूले सोमबार पहिलो चरणको खोप लगाउँदै आम नागरिकलाई पनि खोप लगाउन आह्वानसमेत गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको ‘इन्डियन इन्स्ष्टिच्यूट अफ मेडिकल साइन्स ९एआईआईएमएस० मा गएर खोप लगाउनु भएको हो ।

“मैले आज कोरोनाभाइरसविरुद्धको पहिलो खोप लगाएको छु, चिकित्सक तथा वैज्ञानिकहरूको सिफारिसका आधारमा मैले खोप लगाएको हुँ, विश्वव्यापी महामारीका विरुद्धमा लड्न यसले सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु” उहाँले भन्नुभएको छ ।

उहाँले आफूले खोप प्रतिको विश्वास भएकाले खोप लगाएको उल्लेख गर्दै आमनागरिकलाई पनि खोप लगाउनसमेत आह्वान गर्नुभयो । भारतमा गत जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको भए पनि प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीले भने सोमबार मात्रै लगाउनुभएको हो ।

सोमबार प्रधानमन्त्री मोदीसँगै उपराष्ट्रपति, मन्त्री, न्यायाधीशहरूलगायतका धेरै उच्चपदस्थ पदाधिकारीहरूले खोप लगाउनु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय