काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न नसकेपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्न पुगेका हुन् ।
ओली विरुद्ध अविश्वासको प्रस्ताव लैजान सक्ने विषयमा अध्यक्ष प्रचण्ड र देउवाबिच छलफल भएको हो। उनीहरुबिच २० मिनेट कुराकानी भएको थियो। देउवा र प्रचण्डबिच भेट भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले
पुष्टि गरे।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट प्रचण्ड सोझै देउवालाई भेट्न पुगेका हुन्। आज माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो। बैठकमा यो विषयले ठाउँ पाए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेरमात्र निर्णय लिने रणनीति माओवादीले लिएको छ।