भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको छ । स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि बन्द गराइएको बताएका छन् । साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन् ।
बिहीबार सो ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका र उनीहरुलाई सो ताजमहलको परिसरबाट बाहिर निस्किन सूचना जारी गरिएको सिन्ह्वाले जनाएको छ ।
एकजना अज्ञात
व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए । त्यसपछि उक्त स्थान खाली गराएर बम रहे नरहेको बारेमा अनुसन्धान गर्ने काम भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । बमको यो हल्लाले पर्यटकीय सहर आग्रामा पनि सतर्कता अपनाइएको छ ।
उक्त ताजमहल यहाँका मुगल सम्राटले आफ्नी श्रीमती मुमताज महलको स्मृतिमा सन् १६५३ मा निर्माण गरेका हुन् ।