प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा अहिराजलाई आइतबार जनकपुरमा भव्य स्वागत गरिएको छ । पदभार ग्रहण गर्न जनकपुर पुगेका प्रमुख झालाई समर्थकहरुले सय किलोको मालाका साथ नगरमा मोटरसाइकल र्याली निकालेर स्वागत गरे । प्रदेश २ सरकारकारले उनको स्वागतका लागि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहालाई स्वागतका लागि पठाएको थियो ।
पदभार ग्रहण गर्दै प्रमुख झाले शीरमा देश र मनमा मधेस राखेर काम गर्ने बताए । देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका
प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज निर्माणमा आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुन सक्ने भएकोले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा आफ्नो भूमिका कायम रहने उनको भनाइ थियो ।
समृद्ध साँस्कृतिक इतिहास बोकेको प्रदेश २ मा काम गर्ने सौभाग्य आफूले पाएको भन्दै उनले यसलाई अवसरको रुपमा लिने बताए । उनले देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको पनि बताए।
प्रदेश प्रमुख झालाई विमानस्थलमै समर्थकहरुले १ सय १ किलो फूलको माला पहिर्याएका थिए ।