काठमाडौं : संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले सोमबार पनि देशभर प्रदर्शन गरेको छ। तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार कांग्रेसका १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गरेको हो।
पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ।
नेपाली कांग्रेसको पुस १३ गते बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले अहिलेको राजनीतिक संक्रमणको सबैभन्दा
उत्तम समाधान संसद पुनर्स्थापना भएको निश्कर्षसहित आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको थियो। तेस्रो चरणको आन्दोलनअन्तर्गत माघ १९ गते कांग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गर्ने, २४ गते कांग्रेसको शुभेच्छुक संस्थाहरूले प्रदर्शन गर्ने र ३० गते जिल्ला कार्यसमितिहरुको नेतृत्वमा मुलुकभर प्रदर्शन गर्ने गरी आन्दोलनका कार्यक्रम तय भएका छन्।
कांग्रेसले यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै वडा तहसम्म विरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ।
यसैबीच वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन्। 'सर्वोच्च अदालतले न्यायका पक्षमा फैसला गर्ने हुनाले कांग्रेस निर्णायक सङ्घर्षमा पुगेको छैन, हामी निर्णायक सङ्घर्षमा पुग्न नपरोस्', दमौलीमा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले भने, 'अदालतप्रति आशा र विश्वास छ।'
पौडेलले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज उठाउनपर्ने बताए।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधानमा बहुमत प्राप्त दलका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख भएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटनको कदम सच्याउनुपर्ने धारणा राखे। उनले न्यायमूर्तिहरुले संविधानमा भएको व्यवस्थानुसार न्यायिक निर्णय गर्ने विश्वास व्यक्त गरे।