काठमाडाैं- सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो।
कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिकहरु फर्काइरहेको र विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई फर्काउन दबाबसमेत आएको सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन सर्वोच्चले भनेको हो। वैदेशिक रोजगारीमा रहेका र उक्त देशमा महामारी फैलिएकाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले भनेको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम विना भेदभाव उपचारलगायतका सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन परराष्ट्रमार्फत् कूटनीतिक पहल गर्न पनि सर्वोच्चकाे आदेशमा भनिएकाे छ।
‘वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमलाई संरक्षण गर्न, नागरिकको व्यक्तिगत अधिकार, बहुसंख्यक नागरिकाको जीवन स्वास्थ्य, सुरक्षाको हितलाई उनीहरुको उद्धार र फिर्ता ल्याउने कार्य गर्नुपर्ने देखिन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘उनीहरुलाई फिर्ता ल्याउनका लागि आवश्यक प्रशासनीक, आर्थिक र व्यवस्थापकीय पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ।’