काठमाण्डाै । प्रदेश ३ को दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी मन्त्री बिना मगरले बिहीबार एक समारोहका बीच दोलखालाई मुलुकको ६७ औँ खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरेकी हुन् ।
जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेको हो । खुला दिसामुक्त जिल्ला घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री मगरले देशैभरी पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बताइन् । उनले आउँदो असोज भित्रमा नेपाललाई
खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिइन् ।
दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । दोलखामा ४५ हजार ६ सय ५८ घरधुरीमा शौचालय निर्माण भएका छन् ।
‘हामी स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर देशैभरीका लागि सरसफाइ योजना बनाउँदै छौँ’, उनले भनिन्, ‘अब राष्ट्रलाई पूर्ण सरसफाइ अभियानमा केन्द्रीत गर्दैछौँ । सरसफाइले हाम्रो समाज र देशको प्रतिष्ठा मापन गर्ने भएकाले यसलाई सामान्य कुरा ठान्नु हुँदैन ।
सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मठ मन्दिर र सबै घरधुरीमा शौचालय निर्माण गरी प्रयोगमा आएपछि दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जानकारी दिए । प्रमुख पाण्डेले अब दोलखामा पूर्ण सरसफाइको अभियान सञ्चालन गर्न रणनीतिक योजना तयार पारिएको बताए ।