काठमाण्डाै । धनगढीमा नेपाल आइस मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले उद्घाटन गरे । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतियोगितामा सहभागी नौ वटै टीमहरुले पनि भाग लिएका थिए ।
लिगका आधारमा खेलाईने प्रतियोगिताको पहिलो दिन भएका खेलमा एसटीएस टेलिभिजन, रेडियो धनगढी र
बी टिभी विजयी भएका छन् । रेडियो डेलिमेल र डेलीपाटी डट कमले बराबरी खेलेका छन् । उद्घाटन खेलमा एसटीएस टेलिभिजनले पश्चिम टुडेलाई १५—२ ले हरायो । एसटीएसको जितमा सागर शाहले ७ गोल गरे । शंकर बोहोराले चार जितेन्द्र रावल र योगेन्द्र नायकले दुई दुई गोल गरे । पश्चिम टुडेका लागि दिपक उपाध्याय र खेम उपाध्यायले एक एक गोल फर्काए ।
पहिलो दिनको दोस्रो खेलमा रेडियो धनगढीले दिनेश एफएमलाई ६—१ ले किनारा लगायो । रेडियो धनगढीका लागि लोक कार्कीले तीन तथा प्रकाश छेडाल सौरभ थापा र पुष्प जोशीले एक एक गोल गरे । दिनेश एफएमका लागि कमल सावदले एक गोल फर्काए ।
तेस्रो खेलमा भने रेडियो डेलिमेल र डेलीपाटी डटकमले चार चारको बराबरी खेले । डेलिमेलका लागि सन्तोष रावतले तीन तथा राजेश चौधरीले एक गोल गरे । डेलीपाटीका लागि पुष्कर विकले एक्लै चार गोल गरे । पहिलो दिनको चौथो तथा अन्तिम खेलमा बी टिभी विजयी भएको छ । बी टीभीले सुदुर सन्देशलाई ५—४ ले हराएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक लिग चरणका चार खेल हुनेछन । अन्तिम दिन भने दुई सेमीफाईनल र फाईनल हुनेछ ।