काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा करिब एक दर्जन ठूला विकासे कार्यक्रम र परियोजना सञ्चालन हुँदै छन् । एउटै परियोजना १५ अर्ब रुपैयाँसम्मको छ। केही परियोजनामा काम धमाधम भइरहेको छ भने अन्य प्रक्रियामा छन्।
ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा दमकमा ‘विश्वकै अग्लो बुद्धमूर्ति’ बनाउने भनी गरेको घोषणा कार्यान्वयनमा आउन लागेको छ। दमकको उत्तर सिरान हम्से–दुम्से सामुदायिक वन क्षेत्रमा ५४२ फिट अग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डीपीआर तयार गरिसकेको छ।
१५
अर्बभन्दा बढीको लगानीमा बुद्धमूर्ति निर्माण गर्न लागिएको हो । यसका लागि ५ बिघा १२ कट्ठा जमिन प्राप्त भइसकेको नगरपालिकाका प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए। थप २० बिघा जमिन प्राप्त गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए।
दमक–३ मा १८ तले भ्यु टावर निर्माण प्रक्रिया पनि अघि बढेको छ। सघन सहरी विकास मन्त्रालयले करिब ३ अर्बको लागतमा सुविधासम्पन्न टावर निर्माण गर्न लागेको हो । यसको ठेक्का सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ। ५ बिघा क्षेत्रफलमा निर्माण हुने ७२ मिटर अग्लो १८ तले भ्यु टावरमा २८ मिटर स्टिल टावर रहने जनाइएको छ। टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल, कर्पोरेट कार्यालयलगायत रहनेछन् । प्रधानमन्त्री ओलीले ०७३ जेठ २८ गते टावर शिलान्यास गरेका थिए।
कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराई र अर्जुन राजवंशीले लेखेका छन्