काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत ऋण दिने कार्यक्रम कार्यान्वयनमै नआई अलपत्र पर्ने सम्भावना बढेको छ। वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्केका युवालाई सहुलियत ऋण उपलब्ध गराउने भन्दै पाँच महिनाअघि लगत संकलन गरेको थियो। अहिलेसम्म ५० जनाले मात्र बैंक वित्तीय संस्थाबाट ऋण पाएका छन्। उनीहरुले बोर्डको समन्वयमा ऋण पाएका हुन् वा व्यक्तिगत पहल प्रभावकारी भएको हो, यकिन छैन।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सहुलियत ऋणका लागि आवेदन दिएका सबै युवाले बैंकबाट सहजै ऋण प्राप्त गर्ने व्यवस्था मिलाउन बोर्डले सक्दो पहल
र समन्वय गरिरहेको बताए। उनले अहिलेसम्म ५० जनाले मात्र ऋण पाएको जानकारी दिए। ‘बोर्डले सहुलियत ऋण माग गर्ने सबैलाई त्यस्तो सुविधा प्राप्त होस् भनेर अर्थ मन्त्रालयदेखि राष्ट्रबैंक गुहार्नेसम्मको काम गरिरहेको छ,’ उनले भने, ‘तैपनि अहिलेसम्म सोचेजस्तो नतिजा आउन सकेको छैन। ’
बोर्डमा निवेदन दिएका युवालाई बैंकले ऋण नदिएपछि सहुलियतपूर्ण ऋण दिने कार्यविधि नै संशोधन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। ‘विद्यमान कार्यविधि संशोधन भएपछि ऋण माग गर्नेहरूलाई सहज होला भन्ने लागेको छ,’ श्रेष्ठले भने। तर अर्थ मन्त्रालयले कार्यविधि कहिले संशोधन गर्ने हो, टुंगो नभएको बोर्डकै कतिपय कर्मचारी बताउँछन्। संंशोधनमा ऋण पाउन वैदेशिक रोजगारीबाट फर्केको तीन वर्ष ननाघेको हुनुपर्ने प्रावधान हटाउन खोजिएको श्रेष्ठले बताए। बोर्डले सहुलियतपूर्ण ऋण प्राप्तिका लागि वैदेशिक रोजगारीबाट फर्केको तीन वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ। संशोधमार्फत कर्जा भुक्तानीलाई सहज बनाउनुका साथै धितोबारे पनि प्रस्ट पार्न खोजिएको छ।
स्वरोजगार बनाउने नाममा दिने ऋणको अनुभव सकारात्मक छैन। उद्यम गर्नलाई लिएको ऋण फजुल खर्च गरी साँवासमेत नतिर्ने उदाहरण धेरै भएकाले बैंकहरूले विदेशबाट फर्केका युवालाई ऋण दिन आनाकानी गरेका हुन्।
नेपालमा युवालाई स्वरोजगार बनाउने नाममा दिने गरिएका ऋण कार्यक्रमको अनुभव सकारात्मक छैन। उद्यम गर्नलाई लिएको ऋण फजुल खर्च गरी साँवासमेत नतिर्ने उदाहरण भएकाले बैंकहरू विदेशबाट फर्केका युवालाई ऋण दिन मानिरहेका छैनन्। त्यस्तै कतिपय युवाले सक्षम र टिकाउभन्दा पनि हावादारी व्यावसायिक योजना बनाएको बैंकरहरूको भनाइ छ। बोर्ड सचिवालयले आह्वान गरेको सूचनाअनुसार आवेदन दिएकामध्ये १८ हजार सात सय ३७ जनालाई ऋण प्राप्तिका लागि सूचीकरण गरिएको थियो। व्यावसायिक योजनामा भने अधिकांशले उद्यमी बन्ने चाहना राखेका छन्। नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।