आइतवार, मंसिर १८, २०७९ | Sunday 4th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नक्कली आमा बन्‍ने प्रयास विफल
मुख्य खबर

नक्कली आमा बन्‍ने प्रयास विफल

  • सिधा दृष्टी मङ्लबार, साउन २८, २०७६ | August 13, 2019

काठमाडौं । अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। प्रमाणपत्रमा शिशुको जन्म साउन १२ गते भएको लेखिएको छ। जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ छ।

अध्यागमन विभागको अनुसन्धानपछि गैरकानुनी ढंगले

शिशुलाई बेलायत लैजाने स्मिथले गरेको प्रयास विफल भएको हो। नेपालस्थित बेलायती दूतावासले स्मिथकै छोरी भन्दै ती शिशुको राहदानी (नम्बर ७९२१५९३१४) बनाइदिएको छ। दूतावासले हचुवाका भरमा नेपाली शिशुको राहदानी बनाइदिएपछि उसको भूमिकासमेत शंकास्पद देखिएको अधिकारीहरूले बताए। आवश्यक कागजपत्रै नभई दूतावासले राहदानी बनाइदिएको पाइएको छ।

दूतावासले साउन २७ गतेसम्म ती शिशुलाई बेलायत भित्र्याइसक्नुपर्ने ‘इमरजेन्सी’ राहदानी बनाइदिएको थियो। अनुसन्धान सुरु भइसकेकाले स्मिथले उनलाई तोकिएको मितिमा बेलायत लैजान सकिनन्। त्यसपछि पुनः बेलायती दूतावासले ती शिशुको अर्को राहदानी बनाइदियो। स्रोतका अनुसार दुवै राहदानीमा ती शिशुको नाम भिन्न छ। ती शिशु कसको हो भन्ने खुलेको छैन। स्मिथले ती शिशुलाई आफंैले जन्म दिएको जिकिर गर्दै आएकी थिइन्। उनले हठ नछाडेपछि अध्यागमन विभागले उनको स्वास्थ्य परीक्षण गर्ने निर्णय गर्‍यो।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले ती शिशुलाई स्मिथले जन्माएको कुनै आधार नभेटिएको बताए। पौडेलले भने, ‘हामीले स्मिथको स्वास्थ्य परीक्षण गर्‍यौं। मेडिकल रिपोर्टले नै स्मिथको दाबी गलत साबित गरिदियो।’

विभागले उनलाई परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्वास्थ्य उपचारका लागि पठाएको थियो। सुरुमा आफ्नो स्वास्थ्य परीक्षण गर्न उनले इन्कार गर्दै आएकी थिइन्। अनुसन्धानका क्रममा सहयोग नगरे अप्ठ्यारो पर्न सक्ने विभागको चेतावनीपछि स्मिथ स्वास्थ्य परीक्षण गर्न राजी भएकी थिइन्।

स्वास्थ्य परीक्षणका क्रममा स्मिथ ती शिशुको आमा नभएको पुष्टि भएको थियो। त्यसपछि गैरकानुनी ढंगले ती शिशुलाई बेलायत लैजान खाजेको भन्दै अध्यागमन विभागले स्मिथलाई पक्राउ गरेको थियो। बेलायती दूतावासले स्मिथमाथि अनुसन्धान गरेको थाहा पाएपछि उनलाई सहयोग गरिदिन भन्दै विभागमा पत्र पठाएको थियो। अनुसन्धानका क्रममा स्मिथको गम्भीर त्रुटि भेटेपछि उनलाई पक्राउ गरी विभागले थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ। प्रहरीले स्मिथविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरेको छ।

‘स्मिथलाई हामीले प्रहरीको जिम्मा लगाएको छौं,’ महानिर्देशक पौडेलले भने। प्रहरीसँगको प्रारम्भिक अनुसन्धानका क्रममा स्मिथले ती शिशु आफ्नी छोरी नभएको स्विकारेको स्रोतले बतायो। यद्यपि स्मिथमाथि प्रहरी अनुसन्धान जारी छ। अन्नपूर्ण पोष्ट दैनिकमा शम्भु कट्टेलले लेखेका छन्

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय