काठमाडौं । आउँदो ४ माघबाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’की नवोदित अभिनेत्री हुन् प्रियंका सिंह । उनले यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । नयाँ बानेश्वरकी प्रियंकालाई टिक टक भिडियो हेरेर निर्देशक सुवास कोइरालाले गरुड पुराणमा डेब्यु गराएका हुन् ।
उनी त्यतीबेला टिक टक (म्युजिकल्ली)मा निकै हिट थिइन् । त्यतिबेला सयौं टिक टक भिडियोमा उनको अभिनय निर्देशक कोइरालालाई मन परेको थियो । टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर चलचित्र गरुड पुराणमा चयन गरिएको हो
।
प्रियंकाका भनाइमा टिक टकमा अभिनय गरेको जस्तो सजिलो फिल्ममा नहुँदो रहेछ, ‘टिक टक त एक्लै बसेर बनाउ“दा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समुहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ’ उनले अनुभव सुनाइन् ।
चलचित्र गरुड पुराणमा उनीलाई सबै जसोले मन पराउँछन् । मुख्यतय फिल्मका अभिनेता कर्मा, प्रविण खतिवडा र कामेश्वर चौरसियाले मन पाउँछन् । पहिलो फिल्ममै आफुले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाईलो महसुस भएको पनि उनले बताइन् ।
प्रियंका स्वभावले कम बोल्न र आफैंमा रमाउने व्यक्ति हुन् । तर फिल्ममा उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन् । आफ्नो स्वभावभन्दा फरक भूमिका यो फिल्ममा निभाउँदाको अनुभवबारे उनले भनिन्,‘गरुड पुराणमा ज्योतीको भूमिका निर्वाह गरेपछि मैले आफुपनि त्यो चरित्र जस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरेँ । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्र्दैछु ।’
आफुलाई कर्मा, नाजिर, प्रविणसबैले अभिनय कार्यशालाको क्रममा धेरैकुरा सिकाएकाले पनि गरुड पुराणमा उहाँहरुसँग काम गर्न सजिलो भएको उनले बताइन् ।
म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियँका अहिले पूर्ण रुपमा सिनेमामै आबद्ध छिन् । उनलाई यो बीचमा केही फिल्मबाट प्रस्ताव आएको थियो । तर, पहिला गरुड पुराणको रिजल्ट हेर्ने र त्यसपछि अरु फिल्ममा काम गर्ने निर्णय लिएर आफु यही फिल्ममा व्यस्त रहेको यी नवोदित अभिनेत्रीले बताइन् ।