विराटनगर । पाँचौँ महिला साफ च्याम्पियनपसिप फुटबल प्रतियोगिता सञ्चालन गर्न विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ ।
आइतबार विराटनगरमा भएको सम्झौताअनुसार आगामी २८ फागुनबाट सुरु हुने प्रतियोगिताका लािग महानगरले रंगशालामा खेलकुद प्रयोजनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने भएको हो ।
पाँचौँ महिला साफ च्याम्पियन फुटबल प्रतियोगिता सञ्चालनका लागि रंगशाला मर्मतसहित आवश्यक संरचना तयार गर्न महानगर र एन्फाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा महानगर प्रमुख भीम पराजुली र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर
गरेका छन् । सम्झौता अनुसार प्रतियोगिता सञ्चालनका लागि महानगरपालिकाले निर्माणधीन खेलाडी चेन्जिङ रुम रंगरोगन गर्नेछ । महानगरपालिकाले रंगशालासम्म पुग्ने सडक, पार्किङको व्यवस्थापनसँगसँगै मैदानको मर्मत सम्हारका लागि सहयोग गर्ने पनि सम्झौता भएको छ ।
सम्झौतामा महानगरपालिकाले रंगशालाको रंगरोगन, स्टेजमा रहेका कोठालाई बिशिष्ट कक्ष निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउने छ । महानगरपालिकाले चेन्जिङ रुम, रेफ्री रुम, म्याच कमिस्नर रुम, खेलाडी रिफ्रेस रुम, मेडिकल रुमलगायतका पूर्वाधारमा आवश्यक विद्युत्, पानी र फर्मिचरको व्यवस्थापन गर्ने छ । प्रतियोगिताका लागि आवश्यक संरचना महानगरले १२ फागुनभित्र नै सम्पन्न गर्नुपर्ने छ ।
एन्फाले साफमा सहभागी राष्ट्रका प्रतिनिधि, खेलाडीलाई आमन्त्रण तथा ब्यवस्थापन गर्नेछ । प्रतियोगिता भरका लागि गृहमन्त्रालयसँग समन्वय गर्दै शान्ति सुरुक्षाको ब्यवस्थापन पनि एन्फाले नै गर्ने छ । सम्झौता पछि एन्फाका अध्यक्ष शेर्पाले अन्तर्राष्ट्रियस्तरबाट ३ सय बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने प्रतियोगिताले विराटनगरको गरिमा बढाउने बताए ।
त्यसैगरी, नेपाली महिला राष्ट्रिय टोलीको सन्दर्भमा अन्य टोलीको तुलनामा नेपाली टोली बलियो रहेको उनले बताएका छन् । ‘क्लोज क्याम्पमा रहेको टोलीलाई प्रतियोगितापूर्व दुई वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन तयारी गरिरहेका छौँ,’ उनले भने ।
प्रदेश एकको अस्थायी राजधानी विराटनगरमा हुने प्रतियोगिताले भारत, भुटान, बंगलादेशबाट पयर्टकलाई आकर्षण गर्न सकिने अध्यक्ष शेर्पाको भनाइ छ । महानगरपालिका मेयर पराजुलीले प्रतियोगिता आयोजना गर्न पाउनु महानगरका लागि गौरवको बिषय भएको बताए ।