बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • कंग्रेस महासमिति बैठकमा सदस्यलाई चार मिनेटको समय
फिचर न्युज 1

कंग्रेस महासमिति बैठकमा सदस्यलाई चार मिनेटको समय

  • सिधा दृष्टी आइतवार, पुस १, २०७५ | December 16, 2018

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि सदस्यहरुले आ–आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको बैठकको बन्दसत्रमा आइतबार राजनीतिक, सांगठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो । पार्टी प्रवक्ता विश्वप्रकाश शमाका अनुसार उक्त प्रतिवेदनमध्ये राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले शनिबार बैठकमा पेश गरेका थिए ।
तीन प्रस्ताव क्रमशः महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले आइतबार

प्रस्तुत गरेको प्रतिवेदमाथि पनि छलफल सुरु भएको छ ।
जारी बैठकमा बोल्ने महासमिति सदस्यले राजनीतिक प्रतिवेदनमा थप परिमार्जन गरेर जानुपर्ने धारणा राखेको प्रवक्ता शर्माले बताए । उक्त प्रतिवेदनमा पार्टीका सिद्धान्त र विचारका सम्बन्धमा गरिएका व्याख्या, अन्य दल र सरकारका सम्बन्धमा अभिव्यक्त धारणाका सम्बन्धमा महासमिति सदस्यले फरकफरक धारणा राखेका थिए ।
उनीहरुले पार्टीको सांगठनिक सुदृढीकरणका लागि काम गर्ने शैली र मूल्यांकन गर्ने परिपाटीमा सुधारको सुझाव दिएका छन् । कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा भने शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ ।

शीर्ष नेताबीच सहमतिपश्चात् विधान मस्यौदाको प्रतिवेदन अर्का महामन्त्री पूर्णबहादुर खड्काले महासमिति बैठकमा पेश गर्ने बताइएको छ ।
बैठकमा सबै जिल्ला, निर्वाचन क्षेत्र, क्षेत्रीय, जातीयरुपमा प्रतिनिधित्व हुने गरी महासमिति सदस्यलाई बोल्ने व्यवस्था मिलाइएको प्रवक्ता शर्माले जनाए । महासमिति सदस्यलाई यसअघि प्रदेशगतरुपमा समूह विभाजन गरी छलफल गर्ने भनिए पनि हाल एउटै हलमा छलफल भइरहेको छ ।
कांग्रेसले महासमिति सदस्यलई माइकमा बोल्नका लागि चार मिनेटको समय व्यवस्थापन गरेको छ । चार मिनेटमा स्वतः माइक बन्द हुने प्रविधिको व्यवस्था गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।
पार्टीले सबैका धारणा लिखित रिपोर्टिङ, श्रव्यदृश्य र श्रव्यसमेत संकलन गरी सूचीबद्ध गरिरहेको र सोहीअनुसार सबैका भावना समेटिने गरी सबै प्रतिवेदन पारित गर्ने योजना बनाएको छ । प्रवक्ता शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।
महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्काे महाविधेशन प्रारम्भ नहुँदासम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ ।
त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि २०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो ।
कांग्रेसकै नेृतत्वको सरकारमा जारी भएको नेपालको संविधान कार्यान्वयनका लागि कांग्रेसकै नेतृत्वको सरकारले गरेका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पार्टीले नराम्रो पराजय भोगेपछिको अवस्थामा यो बैठक भएको छ । मुलुकका सबै ठूला राजनीतिक क्रान्तिको नेतृत्व गरेको कांग्रेसको यो महासमिति बैठकलाई सर्वत्र निकै चासो र महत्वका साथ हेरिएको छ । बैठक ३ पुससम्म चल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय