काठमाडौं । सूर्यविनायक– धुलिखेल सुरुङमार्ग निर्माण कार्य सुरु गर्ने तयारी हुन थालेको छ । सो सुरुङमार्ग निर्माण गर्न अध्ययन टोली काठमाडौं आइसकेको छ ।
अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेनको सडक तथा सुरुङमार्ग निर्माण ऋण सम्झौता ६ महिनापछि हुने भएको बताइएको छ । काठमाडौं आएको जापानी टोली र नेपाली टोलीबीचको छलफलमा ऋण सम्झौता बैशाखमा गरिने बताइएको छ । सडक विभागका अनुसार जापानी टोलीसँग ऋणको मोडालिटीका बारेमा छलफल हुँदै छ । जापानबाट आएको टोलीमा प्राविधिकसमेत भएकाले यसको निर्माणले गति लिने
बताइन्छ ।
बढ्दो सवारी दुर्घटना र ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले सूर्यविनायक धुलिखेल सडकखण्ड विस्तार गरेर ८ लेनको बनाउन लागिएको हो । करिव १६ किलोमिटर यो सडक विस्तारका गर्न प्रारम्भिक सर्भेसमेत भइसकेको छ । जापान अन्तर्राष्ट्रिय नियोग(जाइका)ले सडक विस्तार तथा सुरुङमार्ग निर्माण गर्नका लागि प्रारम्भिक सर्भे रिपोर्ट तयार पारेको थियो ।
प्रारम्भिक रिपोर्ट अनुसार सडक विस्तार गर्न र सुरुङमार्ग निर्माण गर्नका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । जापानले ०.२ प्रतिशत ब्याजदरमा ऋण दिने प्रतिबद्धता जनाएको छ । जापानसँग ऋण सम्झौता भएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ । जापान सरकारको सहयोगमै निर्माण गरिएको उक्त सडक जोड्ने कोटेश्वर–सूर्यविनायक सडक खण्ड ६ लेनको छ ।
धुलिखेलतिर जान र आउनका लागि दुई वटा सुरुङमार्ग हुनेछन् । एउटा सुरुङमार्गको चौडाई ९ मिटर बराबरको हुनेछ । सुरुङमार्गमा दुईवटा ३.५/३.५ मिटरको हुनेछ भने २ मिटर स्थान छाडिने बताइएको छ ।