काठमाडौंं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै जलवायु परिवर्तन र जैविक विविधता संरक्षणका विषयमा छलफल भएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले बताए ।
अमेरिकी सहयोगमा नेपालमा सञ्चालित हरियो वन, पानीको स्रोत व्यवस्थापन र वातावरणीय प्रदूषण नियन्त्रणजस्ता कार्यक्रमलाई निरन्तरता दिनेबारे उनीहरुबीच समझदारी कायम भएको छ ।
भेटमा मन्त्री बस्नेतले नेपालको ४४ प्रतिशत भू–भाग वन
क्षेत्रले ओगटेको उल्लेख गर्दै वन क्षेत्रको बहुआयामिक उपयोगमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने कार्यक्रमलाई मन्त्रालयले प्राथमिकताका साथ अगाडि बढाएकोे बताए ।
त्यस्ता कार्यक्रम संघ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र र समुदायको प्रत्यक्ष सहभागितामा आधारित हुने जानकारी दिँदै उनले विकासलाई वातावरणमैत्री र वातावरणले विकासलाई दिगो बनाउने गरी काम गर्न लागेको बताए ।
भेटमा राजदूत बेरीले नेपालले बाघको संख्या दोब्बर पारेको र एकसिङ्गे गैँडाको चोरी–शिकारी शून्यमा झारेकामा प्रशंसा व्यक्त गर्दै प्राकृतिक साधनस्रोत, वातावरण र विकासबीच संरक्षण तथा उपयोगमा सन्तुलनकारी बाटो अवलम्बन गर्न सुझाव दिएका थिए ।
यसैबीच सभामुख कृष्णबहादुर महरासँग यहाँस्थित अमेरिकी राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको द्विपक्षीय भेटमा नेपाल–अमेरिका बीचको सम्बन्ध, आपसी हित, सहकार्य र संसदीय मैत्री समूह गठनलगायत विषयमा छलफल भएको छ ।
सो अवसरमा सभामुख महराले राजदूत बेरीको कार्यकाल सुखद र कूटनीतिक हिसाबले सफल रहने विश्वास व्यक्त गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहादपूर्ण रहेको बताएको सभामुख महराका सञ्चार संयोजक डिल्ली मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले दुई देशबीचको संसदीय सम्बन्धलाई प्रगाढ बनाउन ‘संसदीय मैत्री समूह गठन’को तयारी भइराखेको उल्लेख गर्दै यस्ता समूहले संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मात्रै नभई राजनीतिक सम्बन्ध पनि प्रगाढ बनाउने बताए ।
सभामुख महराले राजनीतिक स्थायित्व भई नेपाल अहिले आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको चर्चा गर्दै वैदेशिक लगानी भित्र्याएर देशको समग्र विकासमा धेरै लाभ लिन सकिने धारणा व्यक्त गरे ।
भेटमा राजदूत बेरीले नेपालमा आफू पहिले केही वर्ष बस्ने मौका पाएको र अहिले राजदूतका रुपमा आउन पाउँदा निकै खुशी लागेको चर्चा गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएसँगै लगानीको वातावरण बन्दै गएकोमा अमेरिकी सरकार खुशी भएको बताए ।
नेपालको समग्र विकासका लागि पूर्वाधारका क्षेत्रमा अमेरिकाले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत लगानी गर्न लागिरहेको उल्लेख गर्दै उहाँले यसका लागि सरकारसँग सम्झौता भइसकेको जानकारी दिए ।
राजदूत बेरीले एमसिसीको सफलता वैदेशिक लगानीका लागि नेपालको सफलताको सूचकका रुपमा रहने उल्लेख गर्दै यसको सफलताका लागि सबै पक्षको सकारात्मक अपेक्षा गरेको बताएको विज्ञप्तिमा उल्लेख छ ।
छलफलमा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, संघीय सचिवालयका सचिव डा भरतराज गौतम लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी सभामुख महरासँग यहाँस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकले पनि आजै उहाँको कार्यकक्षमा भेटवार्ता गरे । भेटमा नेपाल र कोरियाबीच सम्बन्ध, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री समूह गठन लगायतका विषयमा छलफल भएको थियो ।
कोरियाली प्रायद्वीपमा पछिल्लो चरण भएको शान्तिपूर्ण कदमको प्रशंसा गर्दै उनले विश्वशान्तिका लागि उक्त परिघटना ठूलो भएको बताए । सभामुख महराले नेपाल–कोरिया संसदीय मैत्री समूह छिट्टै गठन गर्ने उल्लेख गर्दै मैत्री समूह गठनले दुई देशको सम्बन्ध विस्तारमा थप योगदान पुग्नुका साथै एकअर्काको अनुभव आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।
भेटमा राजदूत हकले आफू नेपालमा चार वर्ष नौ महीना पूर्णतः सफलतापूर्वक बिताएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सभामुखसहित सबै नेपालीलाई धन्यवाद व्यक्त गरे ।