काठमाडौं । सरस्वतीलाई हराउँदै शेर्पा चौँथो स्थानमा उक्लिएको छ । सोमबार एपिएफ रंगशाला हलचोकमा भएको खेलमा हिमालयन शेर्पा क्लबले सरस्वती युवा क्लबलाई १–० ले हराएको हो ।
शेर्पाको जितमा विश्वास श्रेष्ठले गोल गरे । उनले पहिलो हाफको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक भएपछि शेर्पाले जारी प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । खेलमा अधिकांश समय बल पोसेसन राखेको शेर्पाले थप गोल गर्ने अवसर पाए पनि गोल थप्न सकेन ।
यसअघि शेर्पाले पहिलो खेलमा एपिएफसँग गोलरहित बराबरी खेल्दै
अंक बाँढेको थियो । यस जितसँगै शेर्पाको २ खेलमा ४ अंक भएको शेर्पा अंक तालिकाको चौँथो स्थानमा उक्लिएको हो । यता पहिलो खेलमा संकटासँग पराजित सरस्वतीको यो लगातार दोस्रो पराजय हो ।
जावलाखेल पराजित
संकटा क्लबसँग जावालाखेल युथ क्लब पराजित भएको छ । सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दस खेलाडीमा सिमित संकटाले जावलाखेललाई २–० गोलअन्तरले पराजित भएको हो ।
खेलको १८औ मिनेटमा नै संकटाका विदेशी खेलाडी म्याक्स्वेल इलोन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएसँगै दस खेलाडीमा सिमित भएको थियो । दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा संकटाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल थप्न सक्यो ।
संकटाको जितमा दुबै गोल विदेशी खेलाडी सेड्रिक अबाले गोल गरे । खेलको ५७औ मिनेटमा उनले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेलको ८५औ मिनेटमा सेड्रिकले अर्को गोल गर्दै टिमलाई २–० को महŒवपूर्ण जित दिलाए । सुरुवाती समयमै दस खेलाडीमा सिमित भएको संकटामाथि जावलाखेलले कुनै चमत्कार गर्न सकेन । यो जावलाखेलको दोस्रो हार हो भने संकटा क्लबको लगातार दोस्रो जित हो ।
सशस्त्रको पहिलो जित
सशस्त्र प्रहरीको एपिएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपिएफले लिगमा पहिलो जित दर्ता गरेको हो । एपिएफको जितमा प्रवीण स्याङतानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपिएफलाई महŒवपूर्ण जित दिलाए ।
फ्रेन्ड्सले पनि केही गोलका अवसर गुमाएको थियो । खेलमा ‘म्यान अफ दि म्याच’ एपिएफका प्रवीण नै चुनिँदै रु १० हजार प्राप्त गरे । जितसँगै एपिएफले २ खेलबाट चार अंक जोडेको छ ।